
काठमाडौ । ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम गराएकै कारण जनताले आफूँलाई दोस्रो पटक भारी मतले निर्वाचित गराएको बताएका छन् ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महर्जनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘०७४ सालको निर्वाचनमा म झिनो मतले निर्वाचित भएको थिएँ । तर, २०७९ वैशाखमा सम्पन्न भएको निर्वाचनमा मलाई १८ हजार बढी मतले विजयी गराए । यो मत मैले महानगरपालिकामा सुशासन कायम गराएको र कसैलाई काखा र कसैलाई पाखा नगरि काम गरेकै कारण पाएको हुँ ।’
आफूँ निर्वाचित भएपछि आफूँ भेदभावरहित ढँगले काम गर्दा आफ्नै पार्टीबाट आलोचित बन्नुपरेको स्मरण गर्दै मेयर महर्जनले नेपाली कांग्रेस, एमाले र माओवादी लगायत आम महानगरबासीहरुको काममा भेदभाव र पूर्वाग्रह नराखी काम गरिरहेको जिकिर गरे ।
मेयर महर्जनले ललितपुर महानगरपालिकाले नियम, कानुन, विधि र पद्दति भन्दा बाहिर गएर काम नगरेको बताए । उनले भने, ‘नियम र प्रक्रिया भन्दा बाहिर गएर काम नगरेकै कारण अहिले त नियम भन्दा बाहिरका काम गर्नु दबाब नै आउँदैन ।’ मेयर महर्जनले ललितपुर महानगरले अनावश्यक खर्चमा कडाई गरेको दाबी गरे ।
उनले भने, ‘महानगरपालिकामा अनावश्यक खर्च रोकिएको छ, मैले १० लिटर तेल र १० हजार सहयोगका लागि कसैलाई पनि सिफारिस गरेको छैन, अनावश्यक खर्च रोक्न महानगरपालिका टिम नै जुटेको छ ।’मेयर महर्जनले कार्यपालिकाको बैठक बाहेक आफूँले आयोजना गर्ने बैठक तथा भेलामा समेत खाजा खर्चमा निकै मितव्यायी अपनाउने गरेको बताए ।
पछिल्लो समय निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न नगर्ने समस्यारहेको बताए । उनले भने निर्माण व्यवसायीले सम्झौता समयसीमाभित्र काम सम्पन्न नगर्दा ठाउँ ठाउँमा मानिसहरुले निकै दुःख पाउने मात्रै होइन, त्यसको अपसज स्थानीय सरकारहरुले पाउने गरेको बताए ।
उनले ठेकेदारहरुले सडक भत्काएर राख्ने, ढल खन्ने क्रममा ठुला ठुला खाडलहरु खनेर त्यत्तिकै छाडिदिने गर्दा कहिलेकाँही अप्रिय र दुखद घटनाहरु घट्ने भन्दै अब निर्माण व्यवसायीसँग निर्माण कार्यसम्बन्धी सम्झौता गर्दा खेरी नै ‘सेफ्टी फस्ट’लाई विशेष जोड दिनुपर्ने सुझाव समेत दिए ।
कार्यक्रममा महालेखा परीक्षकको कार्यालयकी कार्यवाहक महालेखापरीक्षक राममायाँ कुँवरले महालेखा परीक्षकले गरेको लेखा परीक्षणको सम्पूर्ण गतिविधि कार्यालयको वेवसाइटमा राखिएकाले जोकोहीले पनि लेखा परीक्षणसम्बन्धी प्रतिवेदन हेर्न सकिने व्यवस्था गरिएको बताए ।
०७४/७५ देखि २०७९/८० सम्मको लेखा परीक्षण गर्दा अनियमितता तथा भ्रष्टाचार व्याप्त रहेको जानकारी गराउँदै कावा महालेखापरीक्षक राममायाँ कुँवरले पालिकाले सुधार गर्नुपर्ने व्यहोरा समेत उल्लेख गरिएको बताए ।
महालेखा परीक्षककले स्थानीय तह देखि सम्पूर्ण सरकारी कार्यालयहरुमा सुशासन कायम गराउन ‘वाच डग’को भूमिका निर्वाह गरिरहेको जिकिर गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता एवं सहसचिव भोला दाहालले अख्तियार ०७८/८९ मा कुल २४ हजार ३३१ उजुरी परेको जसमध्ये १७ हजार १६७ उजुरी परेको जसमध्ये १ सय ३१ वटा उजुरी सम्मानित विशेष अदालतमा मुद्दा दायर भएको जानकारी गराए भने सुशासनको सन्दर्भमा एक महत्वपूर्ण पेपर प्रस्तुत गरेका थिए ।
राष्ट्रिय सतर्कता केन्द्रका निमित्त सचिव विनु बज्राचार्य कुँवरले सतर्कता केन्द्रले आफ्नो क्षेत्राधिकार र दायराभित्र रहेर उजुरी संकलनलाई प्रभावकारी बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रत्यक्ष उजुरी संकलन, अनलाइन र इमेल मार्फत उजुरीको आधारमा उजुरी दिने र सोही उजुरीको आधारमा सतर्कता केन्द्रले कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ ।’
केन्द्रले भ्रष्टाचार निवारण ऐन २०५९ टेकेर काम कारबाही गरिरहेको जानकारी गराए ।उनले भने, ‘सूचना संकलन, सतर्क गराउने, सम्पत्ति विवरणको जानकारी राख्ने, छड्के जाँच गर्ने, प्राविधिक परीक्षण गर्ने र जनेचतनाको काम कारबाही तीव्र गतिमा अगाडि बढिरहेको छ ।’
ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई अख्तियार र महालेखा परीक्षकको कार्यालयकै कारण काम गर्ने वातावरण नभएको बताए ।
कर्मचारीहरु काम गर्न कार्यक्षेत्रमा जाँदै गर्दा उसले कदमै पिच्छे अख्तियारलाई सम्झनुपरेपछि कर्मचारीको मनोबल खस्किने भन्दै अख्तियार असली वाच डगको रुपमा रहोस् भन्नेमा जोड दिए ।
काठमाडौंका प्रजिअ घनश्याम उपाध्यायले जनताको पक्षमा काम गर्न अझ धेरै बाकी छ भन्दै स्वास्थ उपचार सहज हुने वातावरण बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।
उनले ललितपुर महानगरपालिकाले गरेका सम्पूर्ण विकास निर्माणका कार्यहरुलाई समेटेर पेपर प्रस्तुत गरेका थिए ।
ललितपुरका प्रजिअ रुद्र प्रसाद पण्डितले पनि आफनो जागिरको अनुभव सुनाउदै अब सुधारको गुन्ज्याएस नभएको बताए ।














