Logo
Logo

नेकपा फुटको अढाइ वर्षपछि पछुतोमा ओली



काठमाडौं । २०७५ जेठ ३ गते दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता भयो । नेकपा घोषणा गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा ‘लिभिङ फोसिल’ भनेर चिनिने जिंगो बिलोबाको बिरुवा रोपेका थिए ।

दोस्रो विश्वयुद्धताका अमेरिकाले जापानको नागासाकीमा परमाणु बम खसालेको थियो । त्यसपछि त्यहाँ कुनै बिरुवा उम्रिन सकिरहेको थिएन । त्यस्तो बेलामा ६ महिनापछि एउटा बिरुवा पलायो । त्यो थियो– जिंगो बिलोबा । जस्तोसुकै कठिन परिस्थितिमा पनि बौरिन सक्ने उक्त बिरुवाको ऐतिहासिकता बुझेरै उनीहरूले रोपेका थिए ।

बिरुवा रोपेपछि ओलीले भनेका थिए– ‘हिन्द महासागरमा गएर कोशीको पानी कुन, सेतीको पानी कुन हो छुट्याउन सकिँदैन । हामी एकीकृत मात्रै होइन अन्तरघुलित भएका छौं ।’

प्रचण्डको आशय पनि त्यस्तै थियो– ‘हाइड्रोजन र अक्सिजन मिलेपछि पानी बन्छ । तर, पानी बनिसकेपछि त्यसबाट अक्सिजन वा हाइड्रोजन छुट्याउन खोजेर पाइँदैन, त्यो केवल पानी हुन्छ । नेकपामा पनि अब न एमाले छ, न माओवादी । साँच्चै भन्दा नेकपा छुट्टै यौगिक बनिसक्यो ।’

तर, एकाकार बनेर महासागरमा मिसिएको दाबी गरिएको नेकपाभित्र एकताको दुई वर्ष नपुग्दै कलह चुलियो । एकअर्कोको प्रशंसा गर्ने ओली–प्रचण्ड एकाएक दुस्मन बने । नाटक र नौटङ्की देखाउन थाले । भाषणैपिच्छे सुन्नै नसक्ने गालीगलौज ।

तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले संसद् विघटन गरेपछि अर्का अध्यक्ष प्रचण्डले कारबाही गरे । उनले बहुमत पार्टी सदस्य र सांसद लिएर ओलीलाई पार्टीको साधरण सदस्य नै नरहने गरी कारबाही गरेका थिए ।

सर्वोच्च अदालतले ओलीले गरेको संसद् विघटनलाई मान्यता दिएन । त्यसपछि उनी राजनीतिक रुपमा सङ्कटमा परे । र, प्रतिगमनकारी ठहरिए ।

यसरी नै कारबाहीको शृङ्खला चलेपछि सर्वोच्च अदालतले नेकपाको एकता नै भंग गरिदियो । सर्वोच्च अदालतको २०७७ फागुन २३ फागुन नेकपा खारेज गरेको थियो । सर्वोच्चले नाम विवादमा पार्टी एकता नै भंग गरिदिएपछि एमाले–माओवादी पहिलेकै स्थितिमा फर्कियो । साथै नेकपा (एकीकृत समाजवादी)को पनि जन्म भयो ।

नेकपा विभाज भएको साढे दुई वर्ष पुग्नै लाग्यो । तर, ओली भने अहिले नेकपा विभाजनको रहस्य खोज्न थालेका छन् । सायद, नेकपा फुटले ‘रिग्रेट फिल’ भएको हुनसक्छ । त्यसैले त सार्वजनिक ठाउँमै उनले नेकपा टुट्नुको विश्लेषण हुनुपर्ने बताउन थालेका छन् । गत आइतबार एक कार्यक्रममा उनले भने– ‘नेकपा विभाजनको विश्लेषण आन्दोलनको हितका लागि गर्याैँ भने त्यसले भविष्यलाई राम्रो हुन्छ ।’

ओलीले नेकपा विघटन हुनुका कारणहरूको खोजी गर्नुपर्ने बताउँदा यसबारे थुप्रैले चासो व्यक्त भइरहेको छ । नेकपा विघटनका पछाडि आन्तरिक कारण मात्रै थिए ? यो प्रश्न अहम् बनेको छ । यसका पछाडिको कारणबारे खोज अनुसन्धान हुनुपर्ने माग विस्तारै बलियो बन्दै गएको छ ।

तर, राजनीतिक विश्लेषक हरि रोका भने ओलीले नेकपा विघटनको रहस्य खोज्नु आफ्नो गल्तीलाई ढाकछोप गर्ने प्रयास मात्रै गरेको बताउँछन् । आफूलाई असल देखाउन ओलीले कहिले ‘चिल्ला’ कुरा गर्ने कहिले अरुलाई दोष थुपार्ने गरेको उनको विश्लेषण छ । नेकपा फुट्नुको पहिलो कारण ओलीको व्यक्तिवादी कार्यपद्धति र अहंकार भएको विश्लेषक रोकाको ठहर छ ।

विश्लेषक रोका भन्छन्- ‘ओलीको व्यक्तिवादी कार्यपद्धति र अहङ्कारले नै नेकपा फुट्यो । बालुवाटारमा रअ प्रमुखलाई भेटेको जवाफ दिन सक्नुभएन । सबैको जवाफ दिइरहनुभन्दा सजिलो बाटो संसद् विघटन रोज्नुभयो । एउटा गल्ती ढाकछोप गर्न अर्को गल्ती गर्न थाल्नुभयो । आफ्नो गल्ती ढाकछोप गर्न कहिले अरुलाई खुइल्याउने, कहिले केही राम्रो कुरा गरेजस्तै गर्नुहुन्छ । अहिले पनि त्यही हो ।’

अहिले आएर ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण खोज्नु ओलीलाई ‘रिग्रेट फिल’ भएको भन्ने नसकिने विश्लेषक रोका बताउँछन् । उनी भन्छन्, ‘ओलीले सकारात्मक त्यस्तो लागेको भए सबैभन्दा पहिला पार्टीमा कुरा राख्नुहुन्थ्यो, छलफल गर्नुहुथ्यो । सार्वजनिक रुपमा होइन । उहाँले पार्टीमा त्यो कुरा राख्नु नै भएको छैन ।’

विश्लेषक रोकाको भनाइमा एमाले र माओवादी सत्ताकै लागि मिलेका थिए । एकताको उद्देश्य नै सत्ता भोग गर्नुथियो । उनी भन्छन्, ‘त्यही कारण सत्ताको भागबन्डा मिलुन्जेल एक ढिक्का भए, नमिलेपछि गन्जागोल ।’

गत मङ्सिरको आमनिर्वाचन पछि पनि ओलीले प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका थिए । त्यसै अनुरूप पुष १० गते एमालेकै पहलमा प्रचण्ड प्रधानमन्त्री बने पनि । तर, एमाले–माओवादीको सहकार्य राष्ट्रपति निर्वाचनसँगै सकियो ।

राजनीतिक अस्थिरताको कारक बनेको नेकपा विभाजनले न्याय पाउला ? अब यो प्रश्न थप पेचिलो बनेको छ । यस्तै, नेकपा विभाजनको कारण खोज्न प्रचण्ड–माधव नेपालहरू तयार होलान् ? यो पनि अहम् विषय बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्