काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका नौ जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । मंगलबार जिल्ला अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न सात दिन म्याद थप गरेको हो ।

बालुवाटार जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ९ जनालाई पक्राउ गरिसकेको छ । सीआईबीले सरकारी किर्ते कसुरमा असार १२ गते भाभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोतका पूर्वकर्मचारी धर्मनाथ गौतम, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोतका पूर्वकर्मचारी गोपाल कार्कीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो ।
यस्तै, सीआईबीले आइतबार काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो भने सोमबार रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको छ ।
१२ गते पक्राउ परेका चार जनालाई १३ गते नै जिल्ला अदालतले हिरासतमा राख्न ७ दिनको अनुमति दिएको थियो । यस मुद्दामा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
संगठित अपराधमा समेत अनुसन्धान गर्न अनुमति
ललिता निवास जग्गा प्रकरणका आरोपितविरुद्ध संगठित अपराधको कसुरमा समेत अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई यो घोटाला प्रकरणमा संलग्नविरुद्ध किर्तेका अलावा संगठित अपराधमा समेत अनुसन्धान गर्न अनुमति दिएको हो ।
गत साता ब्युरोले यो प्रकरणमा जोडिएका विरुद्ध मुलुकी ऐन २०२० को किर्तेसम्बन्धी महलमा अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको थियो । त्यसयता ९ जना पक्राउ परिसकेका छन् ।
अदालतको यो अनुमतिसँग आरोपितहरूलाई कीर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न बाटो खुलेको छ । किर्तेमा २५ दिनभित्र अनुसन्धान टुंग्याएर मुद्दा अदालतमा पुर्याइसक्नुपर्छ । तर‚ संगठित अपराधमा अनुसन्धान गरी मुद्दा लैजान ६० दिनको समय उपलब्ध हुनेछ । ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।










