Logo
Logo

नेकपा ब्युँताउने बहस : कसको स्वार्थ, किन व्यर्थ ? 



काठमाडौं । २०७५ जेठ ३ गते दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भयो । नेकपा घोषणापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा ‘लिभिङ फोसिल’ भनेर चिनिने जिंगो बिलोबाको बिरुवा रोपेका थिए ।

दोस्रो विश्वयुद्धताका अमेरिकाले जापानको नागासाकीमा परमाणु बम खसालेको थियो । त्यसपछि त्यहाँ कुनै बिरुवा उम्रिन सकिरहेको थिएन । त्यस्तो बेलामा ६ महिनापछि एउटा बिरुवा पलायो । त्यो थियो– जिंगो बिलोबा । जस्तोसुकै कठिन परिस्थितिमा पनि बौरिन सक्ने उक्त बिरुवाको ऐतिहासिकता बुझेरै उनीहरूले रोपेका थिए ।

बिरुवा रोपेपछि ओलीले भनेका थिए– ‘हिन्द महासागरमा गएर कोशीको पानी कुन, सेतीको पानी कुन हो छुट्याउन सकिँदैन । हामी एकीकृतमात्रै होइन अन्तरघुलित भएका छौं ।’

प्रचण्डको आशय पनि त्यस्तै थियो– ‘हाइड्रोजन र अक्सिजन मिलेपछि पानी बन्छ । तर, पानी बनिसकेपछि त्यसबाट अक्सिजन वा हाइड्रोजन छुट्याउन खोजेर पाइँदैन, त्यो केवल पानी हुन्छ । नेकपामा पनि अब न एमाले छ, न माओवादी । साँच्चैभन्दा नेकपा छुट्टै यौगिक बनिसक्यो ।’

तर, एकाकार बनेर महासागरमा मिसिएको दाबी गरिएको नेकपाभित्र एकताको दुईवर्ष नपुग्दै कलह चुलियो । एकअर्काको प्रशंसा गर्ने ओली–प्रचण्ड एकाएक दुश्मन बने । तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले संसद् विघटन गरेपछि अर्का अध्यक्ष प्रचण्डले कारबाही गरे । उनले बहुमत पार्टी सदस्य र सांसद लिएर ओलीलाई पार्टीको साधारण सदस्य नै नरहने गरी कारबाही गरेका थिए ।

सर्वोच्च अदालतले ओलीले गरेको संसद् विघटनलाई मान्यता दिएन । त्यसपछि उनी राजनीतिक रुपमा संकटमा परे । र, प्रतिगमनकारी ठहरिए । यसरी नै कारबाहीको शृङ्खला चलेपछि सर्वोच्च अदालतले नेकपा एकता नै भंग गरिदियो ।

सर्वोच्च अदालतको २०७७ फागुन २३ फागुन नेकपा खारेज गरेको थियो । सर्वोच्चले नाम विवादमा पार्टी एकता भंग गरिदिएपछि एमाले–माओवादी पहिलेकै स्थितिमा फर्कियो । साथै, नेकपा (एकीकृत समाजवादी)को पनि जन्म भयो ।

तर, फेरि अहिले नेकपा ब्युँताउने कुरा जोडतोडले उठ्न थालेको छ । यही ४ गते समाजवादी मोर्चा घोषणा गर्दा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा ब्युँताउने चर्चा र नेकपाको स्मरण गरेका थिए । उनले नेकपाको विभाजनका कारणहरूबारे आत्मसमीक्षा गर्नुपर्ने र सबै कम्युनिस्ट पार्टी एक ठाउँमा आउनुपर्ने धारणा राखेका थिए ।

गत आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा विघटनलाई गम्भीर त्रुटि भन्दै आत्मसमीक्षा गरेर नेकपा ब्युँताउनुपर्ने उनले जोड दिए । नेकपा नटिक्नु दुर्भाग्य भएको भन्दै पुनः एकताको अभियानमा लाग्नुपर्ने प्रचण्डको धारणा थियो ।

उनले भनेका थिए– ‘एकपटक असफल भएपनि त्यसबाट शिक्षा लिएर फेरि अगाडि बढ्ने उद्देश्य राख्नुपर्छ । विश्वभरिकै समाजवादको आन्दोलनको इतिहास एकता संघर्ष, विभाजन र रूपान्तरण फेरि एकता र संघर्ष भएर गुज्रँदै अघि बढेको छ, नेपाली कम्युनिस्ट आन्दोलन पनि त्यही नियम अनुसार नै अगाडि बढेको छ ।’

आमनिर्वाचन पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका थिए । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपामा फर्किनुपर्ने प्रस्ताव राखेका थिए ।

त्यसपछि राष्ट्रपति निर्वाचनताका माधव नेपालले पनि नेकपा ब्युँताउनुपर्ने बताएका थिए । गत वैशाखमा विप्लव नेतृत्वको नेकपाले खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए– ‘हामी अलग अलग बस्दा शक्ति छरिएको हुन्छ । त्यसले गर्दा प्रतिक्रियावादीहरूले अवसर पाउँछ । त्यसकारण हामी मिल्नुपर्छ । एकैठाउँमा आउनुपर्छ ।’

गत जेठ २७ गते भक्तपुरमा आयोजित एक कार्यक्रममा नेकपा ब्युँताउन आह्वान नै गरेका थिए । उनले प्रधानमन्त्री एवं माओवादी केन्द्रका प्रचण्ड र एमाले अध्यक्ष ओली तयार हो भने तत्कालीन नेकपा ब्युँतिने दाबी गरेका थिए ।

घनश्याम भुसालले पनि एमालेमा छँदै नेकपा ब्युँताउने कुरा उठाएका थिए । पहिलोपटक ८ चैत २०७८ मा औपचारिक रुपमा भुसालले नेताहरूलाई त्यसका लागि आह्वान गरेका थिए । त्यसपछि पनि उनी यसबारे बोलिरहे । गत २९ पुसमा औपचारिक कार्यक्रम गरेर एकीकृत समाजवादी प्रवेशको घोषणा गर्दा पनि भूसालले त्यसलाई दोहो¥याएका थिए । वामदेव गौतमले त नेकपा एकताको कुरा गरेर अभियान चलाएका थिए ।

संसदीय व्यवस्थालाई इन्कार गर्दै आएका नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि सबै कम्युनिष्ट एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै आएका छन् ।

एक सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनेका छन्– ‘वाम एकताको लागि हामीले प्रस्ताव नै गरेका छौँ । हाम्रो पार्टीको तर्फबाट हामीले स्पष्ट के भनेका छौँ भने नेपाल नितान्त एउटा नयाँ परिवेशमा प्रवेश गरेको छ । यो सबै कम्युनिष्ट पार्टीका नेताहरूले बुझ्नु भएको छ । अहिले सामान्य स्थिति छैन । देशको स्वाधीनताको हिसाबले भनौँ या जनताको अधिकारको हिसाबले । यो स्थितिमा चाहिँ विचार पनि अग्रगामी बनाउनुपर्छ । पुरानै विचारबाट हुने देखिँदैन । कम्युनिष्टहरूको मोर्चा बन्दी र एकता नयाँ उचाइमा उठाउनुपर्छ ।’

अहिले एमाले अध्यक्ष ओली पनि नेकपाबारे गम्भीर विश्लेषण हुनुपर्छ भन्न थालेका छन् । अघिल्लो आइतबार एक कार्यक्रममा उनले भनका थिए– ‘नेकपा विभाजनको विश्लेषण आन्दोलनको हितका लागि गर्यौँ भने त्यसले भविष्यलाई राम्रो हुन्छ ।’

कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूले नेकपाको विषयलाई लिएर एकपछि अर्को सार्वजनिक अभिव्यक्ति दिएपछि साँच्चिकै एकताका लागि हो वा खपतका लागि मात्रै भन्ने चासोको विषय बनेको छ ।

राजनीतिक विश्लेषक हरि रोका भने नेकपा ब्युँताउन असम्भव भएको बताउँछन् । कथमकदाचित एकता भइहाले पनि नटिक्ने उनको दाबी छ । नेपालको कम्युनिष्टहरूको नाम मात्रै मिल्ने सिद्धान्त नमिल्ने उनको तर्क छ ।

विश्लेषक रोकाको भनाइमा एमाले र माओवादी सत्ताकै लागि मिलेका थिए । एकताको उद्देश्य नै सत्ताभोग गर्नुथियो । उनी भन्छन्, ‘त्यही कारण सत्ताको भागबन्डा मिलुञ्जेल एक ढिक्का भए, नमिलेपछि गन्जागोल ।’

अर्का, राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण खनाल भने नेकपा ब्युँताउने कुरा जग हँसाइको कुरामात्रै भएको बताउँछन् । नेपालका कम्युनिष्टहरू नामका मात्रै कम्युनिष्ट भएको र उनीहरुको केही सिद्धान्त नमिल्ने उनी बताउँछन् ।

उनी भन्छन्– ‘अब फेरि कम्युनिष्ट एकताको कुरा नउठाए पनि हुन्छ । यो त जग हँसाइको कुरामात्रै हो । जनताले कम्युनिष्टहरूलाई बुझिसके, चिनिसके । कम्युनिष्ट कम्युनिष्ट भनेर मात्रै हुँदैन, सिद्धान्त पनि मिल्नुपर्यो । नेपालका कम्युनिष्टहरू नामका मात्रै हुन् ।’

प्रतिक्रिया दिनुहोस्