Logo
Logo

प्रहरीमा युवती मोह : कोही जेलमा, कोही निलम्बित



काठमाडौं । प्रहरी संगठनलाई नागरिकका सुरक्षाको दृष्टिमा सर्वोत्कृष्ट निकाय मानिन्छ । तर, केही अधिकृतका कारण प्रहरी संगठन नै बदनाम हुने गरेको छ ।

प्रहरी अधिकृतहरूको युवती मोहले संगठन नै बदनाम हुँदै आएको छ । सोमबार मात्रै प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास तिमिल्सिनाको युवती मोह बाहिरिएको छ । उनीमाथि आपत्तिजनक मेसेज पठाएको आरोप लागेको छ ।

‘अब बोल्ने’ नामक ट्विटर अकाउन्टबाट प्रहरी मुख्यालयलाई मेन्सन गर्दै सार्वजनिक गरिएको म्यासेजका कारण इन्स्पेक्टर तिम्सिनालाई आपत आइलागेको छ । उनले एक युवतीलाई ‘म तिम्रो शरीरको प्रशंसक हुँ’ भन्दै पठाएका छन् ।

सुवास तिमिल्सिना नामक ह्यान्डल र ‘पीडित’ महिलाबीच विभिन्न संवाद भएको देखिन्छ । स्क्रिनसट सार्वजनिक गर्दै भनिएको छ– ‘सुरक्षा सेवक भएर उनले महिलामा असुरक्षा पैदा गरिरहेका छन्, नेपाल प्रहरीको शक्तिमार्फत ।’

‘तिमीलाई एउटा कुरा थाहा छ ? म तिम्रो बडी फिगरको ठूलो फ्यान हो,’ इन्स्पेक्टर सुवास तिमिल्सिनाको भनिएको ह्यान्डलबाट मेसेज गरिएको छ ।

स्क्रिनसटमा उल्लेख भएअनुसार राति ११ बजे गरिएको कुराकानीमा तिम्सिनाले फोटो पठाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘ट्रस्ट मी, इट्स विट्विन अस (विश्वास गर, यो दुईजनाबीच मात्र रहनेछ) ।’

पीडितले आफू र आफ्नो शरीरबारे एकदम ‘प्राइभेट’ रहेको भन्दै नपठाउने भनेका छन् । ‘आई ह्याभ ड्यू रेस्पेक्ट टुवार्डस् यू’ भन्दै उनले फेरि फोटो पठाउन भनेका छन् । जवाफमा ‘म कसरी विश्वास गर्नसक्छु, अहिलेसम्म भेट पनि भएको छैन’ भनेका छन् । तिम्सिनाले आफ्नो ‘क्लासले पनि नराम्रो गर्न नदिने’ भन्दै उनलाई फोटो पठाउन दबाब दिएको देखिन्छ ।

तिम्सिना पुनः आफूलाई विश्वास गर्न आग्रह गर्छन् र भिडिओ संवादमा आउनसमेत आग्रह गर्छन् । सामाजिक सञ्जालमा यो संवाद ‘भाइरल’ बनेको छ ।

घटना बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले डीएसपी प्रकाश दाहालको नेतृत्वमा छानविन समिति गठन गरेको छ । घटनाबारे छानविन सुरु गरिएको कास्की प्रहरी प्रमुख एसपी अजय केसी बताउँछन् । तर, तिम्सिनाले भने आफ्नो इन्स्टा एकाउन्ट ह्याक भएको भन्दै चोखिन खोजेका छन् । आफू चोखिन उनले प्रहरीमा निवेदन समेत दिएका छन् ।

एसपी केसी भन्छन्– ‘तिम्सिनाले आफ्नो इन्स्टा एकाउन्ट ह्याक भएको र विभिन्न व्यक्तिलाई गलत सन्देश पठाएको भन्दै छानविनको लागि निवेदन दिनुभएको छ । त्यस विषयमा अनुसन्धान भइरहेको छ ।’

प्रहरी अधिकृतमाथि यस्तो गम्भीर आरोप लागेको पहिलो पटक भने होइन । यसअघि पनि थुप्रै अधिकृतमाथि यस्तो आरोप लागेको छ ।

को-को छन् त यस्ता आरोप खेप्ने प्रहरी अधिकारी ?

एसएसपी योगबहादुर पाल
महिला प्रहरीलाई ‘गुड फ्राइडे’ मनाऔं भनेर प्रस्ताव राख्दा नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल निलम्बनमा परेका छन् ।

गत १९ जेठमा उनले महेन्द्रनगरस्थित कार्यालयमा एक महिला हवल्दारलाई आफ्नो क्वार्टरमा बोलाएर गुड फ्राइडे मनाउन प्रस्ताव राखेका थिए ।

प्रतिकार गर्दै ती हवल्दारले एसएसपी पालविररूद्ध उजुरी गरे । त्यही दिन उनलाई प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगरबाट हटाउँदै एसपी श्यामसिंह चौधरीको नेतृत्वमा छानबिन समिति गठन गरियो । छानविन समितिले एसएसपी पालबाट दुर्व्यवहार भएको निष्कर्ष निकाल्दै उनलाई कारबाही सिफारिस गर्यो । त्यसपछि उनी निलम्बनमा परे ।

एसएसपी पालको पृष्ठभूमि राम्रो थिएन । २०७१ सालमा उनी सोलुखुम्बुका डीएसपी थिए । जिल्लामै कार्यरत एक कर्मचारीका छोरीलाई कुदृष्टि लगाएका थिए ।

तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पाललाई त्यतिबेला नै जागिरबाट हटाउन लागेका थिए । तर, पालका श्रीमतीले अर्याललाई भेटेर रोइकराई गरी सुधार्ने प्रतिबद्धता गरेर उनको जागिर जोगाइदिएका थिए । तरपनि उनको आचरण सुध्रिएन ।

एसएसपी सौरभ राणा
तत्कालीन संघीय प्रहरी कार्यालय धरानका एसएसपी सौरभ राणामाथि पनि २०७६ माघमा बलात्कारको आरोप लाग्यो । एक महिलाले एसएसपी राणाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दर्ता गराएका थिए ।

प्रहरीले उजुरीकर्ता महिलाको स्वास्थ्य परीक्षण गराएर बयान लियो । घटनास्थल मुचुल्का पनि उठायो । महिलाले उजुरी दिएको भोलिपल्ट (माघ १८ गते) एसएसपी राणा पक्राउ परे ।

तर, जुन मिति र स्थानमा बलात्कार भएको भन्दै ती महिलाले जाहेरीमा उल्लेख गरेका थिए त्यसदिन एसएसपी राणाको मोबाइल लोकेसन धरान नभएर काठमाडौं देखाएको बताइयो । त्यसपछि एसएसपी राणाले उन्मुक्ति पाएका थिए ।

एसएसपी राकेश सिंह
प्रहरीको विधि विज्ञान प्रयोगशालामा कार्यरत एसएसपी राकेश सिंहमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो । आफ्नै कार्यालयका एक महिला जवानलाई बलात्कार गरेको आरोप लागेको थियो । एसएसपी सिंहले ती महिला जवानलाई यौन प्रस्ताव गरेको अडियोसमेत बाहिरिएको थियो ।

२०७५ साउनमा एसएसपी सिंहलाई कारबाही गर्न भन्दै हेडक्वार्टरमा उजुरी पर्यो । महिला प्रहरीलाई शारीरिक सम्बन्ध राख्न करकाप गर्दै आएको र नमानेमा सरुवा गर्ने धम्की दिने गरेको उजुरीमा उल्लेख गरिएको थियो ।

आरोप लाग्दा सिंह एसपी थिए । तर, कारबाही हुनुको साटो उनी बढुवा भएर एसएसपी भए । उजुरीको पाँच वर्ष बित्दा समेत एसएसपी सिंहमाथि कारबाही भएको छैन ।

इन्स्पेक्टर अपूर्व ढुंगाना
इन्स्पेक्टर अपूर्व ढुंगाना त बलात्कार आरोपमा दोषी नै ठहरिए । उनी अहिले धादिङको जेलमा सजाय काटिरहेका छन् । २०७९ कात्तिक १५ गते धादिङ जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै जेल चलानको आदेश दिएको थियो ।

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख रहेका बेला ढुङ्गानाले महिला प्रहरी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेको थियो । ती महिला प्रहरीले उजुरी दिएपछि उनी २०७९ असोज ५ गते पक्राउ परेका थिए ।

डीएसपी राजकुमार खिउजु
डीएसपी राजकुमार खिउजुले बलात्कार आरोपमा एक वर्ष जेलमै बिताए । प्रहरी वृत्त चापागाउँको प्रमुख भएको उनलाई बलात्कारको आरोप लागेको थियो ।

एक महिलालाई खिउजुविरुद्ध उजुरी दिएपछि उनलाई २०७६ फागुन २१ गते जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको थियो । सेवामा रहँदा बलात्ककार गरेको भन्दै एक महिलाले अवकाशपछि खिउजुविरुद्ध उजुरी दिएका थिए ।

प्रहरी रिपोर्ट बनाउन प्रहरी वृत्त चापागाउँमा सोधपुछ जाँदा खिउजुले दबाब र प्रभावमा पारेर बलात्कार गरेको भन्दै ती महिलाले उजुरी दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी बलात्कारको कसुरमा मुद्दा चलाएको थियो । उनी पुर्पक्षका लागि जेल समेत चलान भए । एक वर्ष जेल बसेपछि जिल्ला अदालत ललितपुरले २०७८ वैशाख ९ गते उनलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्