
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुकुलो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।
आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको संयुक्त कार्यक्रममा बोल्दै ढकालले खुकुलो मौद्रिक नीति आवश्यक रहेको बताएका हुन् ।
कसिलो मौद्रिक नीतिका कारण चालू आर्थिक वर्ष अनुमानित भन्दा ६ प्रतिशत कम अर्थतन्त्र विस्तार भएको उनको भनाई थियो । आर्थिक गतिविधि सुस्त हुँदा बैंकहरुको कर्जा असुली सुस्ताएको र कर्जा लगानी बिग्रिने अवस्थामा पुगेको उनले उल्लेख गरे ।
जसलाई सम्बोधन गर्न उनले बैंक वित्तीय संस्था र ऋणी दुवै जवाफदेही हुने नीति अवलम्बन गर्न आग्रह गरे । अध्यक्ष ढकालले मुद्दती र बचतको फरक ब्याजदरको सीमालाई पनि परिमार्जन गर्न सुझाव दिएका छन् । उनले बचत र मुद्दती निक्षेपमा ५ प्रतिशतको फरक हुनुपर्ने बताए ।














