Logo
Logo

‘ललिता निवासको जग्गा छानबिन आफू हिरो बन्ने स्टन्टमात्र’


1.8k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्वार्थका लागि राष्ट्रको हितमाथि खेलवाड गरेको आरोप लगाएका छन् । शुक्रबार कीर्तिपुरमा अखिल स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष ओलीले बहुमत नभएका पार्टीहरु एक ठाँउ मिलेर स्वार्थ बाँड्दै राष्ट्रको हितमाथि खेलबाड गरेको आरोप लगाएका हुन् ।

ओलीले मुलुकमा संसद भएपनि प्रधानमन्त्री प्रचण्डले आफुलाई दिल्लीले प्रधानमन्त्री बनाएको प्रमाण बोलेको र यस्ता धेरै प्रमाणहरु बाहिर आउन बाँकी रहेको दावी गरे । भारतले नेपालमा सरकार बनाउँछु भनेर नभनेको अवस्थामा नेपालका प्रधानमन्त्रीले नै नेपालको सार्वभौमसत्ता विपरित राखेको अभिव्यक्ति साधारण बिषय नभएको उनले बताए ।

त्यस्तै, उनले राष्ट्रपतिबाट यसअघि नै मृत अवस्थामा पुगेको नागरिकता विधेयकलाई संविधान मिचेर प्रमाणीकरण गरेको आरोप लगाए । गठजोडको अराजनीतिक भागबन्डा, स्वार्थहरुको कित्ताकाटको कारणले अहंकार पलाएर संविधान नमान्ने ठाउँमा गठबन्धन पुगिसकेको उनले बताए ।

त्यस्तै, ओलीले ललिता निवास प्रकरणमा छानविन गरि दोषीहरुलाई कारबाही गर्नुपर्ने स्पष्ट पारे । ललिता निवास प्रकरणको छानविनलाई निष्कर्षमा पुराउनै नसक्ने भन्दै ओलीले सरकारले गरिरहेको छानबिन आफू हिरो बन्नका लागि गरिएको स्टन्टबाजीमात्र भएको तर्क गरे ।

अध्यक्ष ओलीले भने, ‘ललिता निवासको जग्गाको छानबिन जुन भनिएको छ त्यो आफू हिरो बन्ने स्टन्टमात्र हो । यसमा गठबन्धनकै मान्छे पर्ने हुन् । हाम्रो पार्टीको कसैको छोराले जमिन किनेको थियो, धनीपुर्जा हेरेर किन्यो होला, सबै प्रक्रिया पुर्यायो होला । अहिले मानौं एमालेकै कोही मान्छे यसमा छ जस्तो प्रचार गरिरहेका छन् । ललिता निवासको दोषी को को हुन् ? कहिलेबाट जफत गरिएका जमिन कांग्रेसीहरुलाई फिर्ता गर्न थालियो ? सरकारले प्रष्ट पारोस् ।’

साथै, ओलीले भारतीय रअ प्रमुखलाई देशको हितको पक्षमा कुरा गर्न आफुले भेटेको दावी गर्दै भने, ‘प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भारतीय रअ प्रमुखलाई घरमै पुगेर लुकेर भेट गरेको छन् ।’

ओलीले कोशी प्रदेशमा मुख्यमन्त्री पदमा नियुक्त गर्दा सभामुखले गठबन्धनको आदेशअनुसार संविधान मिच्ने काम गरेको जिकिर गरे । उनले मुलुकका सबै अंगलाई सरकारले त्रासमा राखेको आरोप लगाए । कोशी प्रदेशमा एमाले नेतामाथि भइरहेको आक्रमणमा सरकारको संलग्नता रहेकोसमेत उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्