Logo
Logo

ओलीको दावी- प्रचण्डले रअ प्रमुखलाई निवासमै लुकेर भेटेर आए


1.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग निवासमै लुकेर भेटेर आएको आरोप लगाएका छन् । शुक्रबार कीर्तिपुरमा अखिल स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई समबोधन गर्दै उनले यस्तो दावी गरेका हुन् ।

पुर्वप्रधामन्त्रीसमेत रहेका ओलीले भारतीय गुप्तचर प्रमुख नेपालमा आउँदा आफूले सार्वजनिकरूपमै भेटेको बताउँदै कुनै कुरा नलुकाएको दावी गरे । तर, त्यसबेला प्रधानमन्त्री रहेका उनले रअ प्रमुख सामन्त गोयलसँगको भेटबारे कुनै जानकारी गराएका थिएनन् ।

गोयल फर्किएपछि मात्र प्रधानमन्त्रीका प्रेस सल्लाहकारले एउटा नोट जारी गरेर गोयलले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट गरेको सार्वजनिक गरेका थिए ।

पछिल्लोपटक भ्रष्टाचार प्रकरणमा एमालेलाई जोडेको भन्दै ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्रहितका पक्षमा कुनै कुरा नगरेको आरोप लगाएका हुन् ।

‘जे कुरामा पनि नेकपा एमालेलाई दोषी देखाउने काममा लागेको छ । भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भनेँ, नेपालमा आएर भेटेँ, मैले सार्वजनिक रूपमा भेटेँ, कुरा गरेँ’ अध्यक्ष ओलीले भने, ‘यसपटक प्रचण्डजी दिल्ली जानुभयो, उनको निवासमा गएर लुकेर भेट्नुभयो । गोप्य मन्त्रणा गरेर आउनु भयो । मैले त्यस्तो गोप्य मन्त्रणा गरेको होइन, वहाँ गएर भेटेको होइन । मलाई भेट्न आएको ठाउँमा मैले भेट दिएको हो । जनताको हितको पक्षमा कुरा गरेँ, अहित केही कुरा गरिनँ, उहाँले देशको हितको पक्षमा कुन शब्द उच्चारण गर्नुभयो, के भन्नुभयो, उहाँ भेटेको कुरा पनि स्वीकार्न सक्नुहुन्न ।’

प्रतिक्रिया दिनुहोस्