
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले नेकपा एमालले विकल्प बिना प्रधानमन्त्रीको राजिनामा माग्नु संविधानको मर्मविपरित हुने बताएका छन् ।
रास्वपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन भैरहवा पुगेका महामन्त्री ढकालले पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको आधारमा बिकल्प विना राजिनामा माग्न नहुने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा आफुलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरैपटक मुम्बइ गएको भन्ने अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् ।
अभिव्यक्तिको आधारमा एमालेले प्रधानमन्त्रीको राजीनामा मागे पनि रास्वपाले राजीनामा नमागेको स्पष्ट पार्दै महामन्त्री ढकालले उक्त विवादित अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले किन बोल्नुभयो आफ्नो कुरा स्पष्ट पार्नुपर्छ । उहाँले स्पष्ट पारेको आधारमा हामी थप टिप्पणी गर्नेछौँ ।’ उनले भने, ‘यो कुरा एमालेले बुझ्नुपर्छ । प्रधानमन्त्री राजीनामा माग्दा विकल्प दिनुपर्छ नत्र राजीनामा माग्न हुँदैन ।’










