Logo
Logo
कला

‘१२ वर्षकै उमेरदेखि गाउन थालेकी हुँ’



सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा सहभागी भएपछि गायिका सविना योङहाङको व्यस्तता बढेको छ । उनी हिजोआज हरेकदिन कार्यक्रम र रेकर्डिङमा व्यस्त छिन् । ‘भ्वाइस अफ नेपाल’ सिजन-४ की फस्ट रनरअप सविना भन्छिन्, ‘सानैदेखि गीत गाउँदै आएकी हुँ, भ्वाइस अफ नेपाल मेरो सांगीतिक करिअरको टर्निङ प्वाइन्ट बन्यो ।’ पाँचथर नागीमा जन्मिएर झापामा हुर्केबढेकी सविना सानैदेखि गाउन रुचाउँथिन् ।

१२ वर्षको उमेरबाटै गाउन सुरु गरेकी सविनाले ‘भ्वाइस अफ नेपाल’को सिजन–४ मा सहभागी हुनअघि एक सयभन्दा बढी गीत गाइसकेकी थिइन् । तर, जब भ्वाइसमा सहभागी भइन्, तब उनी एकाएक चर्चामा आइन् । हालसम्म डेढ सयभन्दा बढी गीत गाइसकेकी सविना भन्छिन्, ‘भ्वाइस अफले चर्चामा ल्याएको साँचो हो । तर, ढिलोचाँडो यो स्थानमा आफैँ पनि पुग्थेँ किनकि केही गरौँ भनेर गायन यात्रामा निस्केकी हुँ ।’ अहिलेकी चर्चित र व्यस्त गायिका सविना योङहाङसँग एमपी सुब्बाको जम्काभेट :

आजभोली कतिको व्यस्त हुनुहुन्छ ?
फुर्सदमा बस्नु परेको छैन । रेकर्डिङ र कार्यक्रमहरुमा व्यस्त छु । स्टेज कार्यक्रम नभएका बेला रेकर्डिङका लागि समय दिँदै आएकी छु ।

‘भ्वाइस अफ नेपाल’मा सहभागी भएपछि व्यस्तता बढेको हो ?
हो, भ्वाइसमा सहभागी भएपछि थप व्यस्त भएँ । हुन त भ्वाइसमा सहभागी हुनअघिदेखि गाउँदै आएकी हुँ । तर, भ्वाइसमा भाग लिएपछि स्टेज कार्यक्रमहरुमा बढी व्यस्त हुन थालेँ । अहिले पनि भ्वाइसकै कारण व्यस्त छु ।

‘भ्वाइस अफ नेपाल’मा सहभागी हुनअघि गीत रेकर्डिङ गर्नुभएको थियो ?
मैले १२ वर्षकै उमेरदेखि गाउन थालेकी हुँ । भ्वाइस अफमा सहभागी हुनअघि नै एक सयभन्दा बढी गीत गाइसकेकी थिएँ । जसमा कतिपयको भिडियो आयो, कतिपय अडियोमै सिमित छन् ।

‘द भ्वाइस अफ नेपाल’मा आउनअघि तपाइँले गाउनुभएको चर्चित गीत कुन हो ?
खाशै चर्चित त छैन । तर, मलाई गायिका सविना योङहाङ भनेर चिनाउने गीत थुप्रै छन् । जसमा केही रिमेक गीत पनि छन् । गायिका पवित्रा सुब्बाको लोकप्रिय गीत ‘तिमी तारे भीर’ मैले रिमेक गरेकी छु । त्यसबाहेक ‘जोडौँ घरबार’, ‘काला कोटैले’जस्ता गीतहरु भ्वाइसमा सहभागी हुनअघि गाएकी हुँ ।

सांगीतिक क्षेत्रमा चर्चित भइसकेर किन भ्वाइसमा सहभागी हुनुभएको नि ?
सुरुमा भ्वाइसमा सहभागी हुने सोच थिएन । तर, साथीहरुले जानु भन्नुभयो । मेरो एकजना थियो, उसले कि तिमी जाऊ, कि म जान्छु भन्नुभयो । दुईजनामध्ये एकजनाले भ्वाइसमा सहभागी हुने कुरा भयो । तर, उनी सहभागी नभएपछि मैले भाग लिएकी हुँ ।

‘भ्वाइस अफ नेपाल’मा शीर्ष विजेता दावेदारका रुपमा दर्शकले लिएका थिए । तर, फस्ट रनरअपमै चित्त बुझाउनु पर्यो । कमजोरी के थियो ?
मेरो पर्फमेन्स मन पराइएको थियो । प्रतिक्रिया पनि राम्रै पाएकी थिएँ । मेरो कमजोरी भोटिङमै होला । विनर भएको भए राम्रै हुन्थ्यो । तर, फस्ट रनरअप बनेर पनि खुसी छु । मैले त्यहाँसम्म पुग्छु भनेर सोचेकै थिएन । दर्शकको माया, हौसला र साथले फस्ट रनरअप हुने मौका पाएँ । यो पनि मेरो लागि जित हो ।

‘द भ्वाइस अफ नेपाल’मा सहभागी भएपछि के सिक्नुभयो ?
धेरै कुरा सिकेँ । मुख्य कुरा समय चिन्ने मौका मिल्यो । साथै, धेरै संघर्ष गर्नुपर्ने रहेछ भन्ने ज्ञान भ्वाइसमा गएपछि थाहा भयो ।

एउटा ग्राण्ड शोमा प्रतिस्पर्धा गरिरहँदा कतिको ‘कम्फाटेवल’ भएको थियो ?
मलाई कम्फाटेवल नै लागेको थियो । कोचहरु राम्रै हुुनुहुन्थ्यो । विषेशगरी राई इज किङ राजेशपायल राईले हौसाइरहनु हुन्थ्यो । उहाँलाई त म भगवान नै मान्छु । उहाँबाट धेरै सपोर्ट पाएँ । अहिले पनि पाइरहेकी छु ।

कस्तो गीत गाउँदा आफ्नो स्वरलाई म्याच गर्छ जस्तो लाग्छ ?
सेन्टिमेन्टल आधुनिक र पूर्वेली गीतमा मेरो स्वर म्याच हुन्छ जस्तो लाग्छ । म आफैं पनि सेन्टिमेन्टल गीत सुन्न रुचाउँछु ।

सानैमा गीतसंगीतप्रति कसरी आकर्षित हुनुभयो ?
सानैदेखि गीत सुन्न रुचाउँथेँ । विशेषगरी अञ्जु पन्तका गीतहरु सुन्थेँ । १२ वर्षकी थिएँ होला, जुनबेला चलचित्र ‘पर्खिबसेँ’को गीत सुनेपछि गायिका बन्ने मोह जागेको हो ।

प्रेरणाचाहिँ को–बाट पाउनुभयो ?
गायनमा लाग्ने मेरो मुख्य प्रेरणा बुबा हो । बुबाकै कारण म यो क्षेत्रमा लागेकी हुँ । मेरो बुबा पनि गाउनु रुचाउँनु हुन्थ्यो । तर, आफ्नो इच्छा पूरा नभएपछि मलाई गायिका बनाउने बुबाको धोको र सपना थियो । मेरो बुबा त अहिले हुनुहुन्न । तर, बुबाकै सपना पूरा गर्दैछु । बुबाले मेरो यो प्रगति हेर्न पाउनुभएन । तैपनि बुबाको इच्छा र सपनालाई साकार पार्न लागिपरेकी छु ।

तपाइँको बाल्यकाल कसरी बितेको थियो ?
म गाउँमा जन्मेकी हुँ । दुःखमै हुर्किएँ । म सानैदेखि बुबाकै साथमा हुर्केबढेकी हुँ । पाँचथरको नागीमा जन्मिएर झापाको हल्दिबारी गोलधापमा हुर्के । र, हल्दिबारीकै जनजागृति उच्च माध्यमिक विद्यालयमा पढेकी हुँ ।

तपाइँको लक्ष्य र उद्देश्य के हो ?
असल छोरी र कुसल गायिका बनेर मेरो बुबाको सपना पूरा गर्ने लक्ष्य लिएकी छु । त्यहीअनुसार अहिले गीतसंगीतमा मिहिनेत गरिरहेकी छु ।

प्रेम प्रस्ताव कतिको आउँछ ?
प्रेम प्रस्ताव आइरहेको हुन्छ । तर, मलाई डर लाग्छ किनकि अहिलेको प्रेम बुबा, बाजेको पालाको जस्तो स्वच्छ छैन । अहिले त प्रेमलाई फेसनका रुपमा लिइन्छ ।

कसैको प्रेम स्वीकार्नु भएको छैन ?
छैन । मलाई लाग्छ, माया पाउनु त मेरो भाग्यमै छैन जस्तो लाग्छ ।

कहिलेसम्ममा घरजम गर्ने सोच बनाउनुभएको छ ?
विवाह र मृत्यु भनेको योजना बनाएर हुने होइन । यदि मन मिल्ने, माया गर्ने र मेरो पेसालाई सम्मान गर्ने पाएँ भने जतिखेर पनि सोच्न सक्छु ।

प्रतिक्रिया दिनुहोस्