काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले आफूले बैठकमा सम्बोधन गर्ने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै सञ्चारकर्मीलाई भने, ‘म संसद् जाँदै छु । मैले सदनमा सम्बोधन गर्छु ।’ सोमबार तीन दलका शीर्ष नेताबीच छलफल भए पनि बैठक खुलाउनेबारे सहमति भए/नभएको आधिकारिक जानकारी आएको छैन । यसअघि एमाले अध्यक्षले यही प्रश्नमा ुपार्लियामेन्टमा थाहा हुन्छु भनेका थिए ।
यसबारे आधिकारिक निर्णय गर्न एमालेले संसद् भवनमा अहिले संसदीय दलको बैठकसमेत बोलाएको छ । प्रधानमन्त्री प्रचण्डले असार १८ गते एक कार्यक्रममा दिएको अभिव्यक्तिको विरोध गर्दै एमालेले संघीय संसद्को दुवै सदनमा अवरोध गर्दै आएको छ ।










