
काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड हेलिकोप्टर परिचालन गरिएको छ ।
सोलुखुम्बुको सुर्केबाट विहाना ९:५२ बजे काठमाडौंका लागि उडेको कल साइन ९एनए-एमभी भएको हेलिकोप्टर विहान १०:१ बजे सम्पर्कविहीन भएको थियो ।
उक्त हेलिकोप्टर सोलुखुम्बुको दूधकुण्ड नगरपालिका- २ लामाजुरा नजिकै दुर्घटना ग्रस्त भएको भन्ने प्रारम्भिक सुचना आएको प्रहरीले जनाएको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाका अनुसार सोलुको लामाजुराको पहाडमा ठाक्किएको ठुलो आवाज आएको भन्दै स्थानीयले खबर गरेको छ ।
मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार सम्पर्कविहीन हेलिकप्टरमा पाइटलसहित ६ जना सवार थिए । उनका अनुसार पाँच यात्रु मेक्सिकन नागरिक हुन् । प्रतिकूल मौसमका कारण खोज्न गएको हेलिकोप्टर गन्तव्यमा पुग्न नसकेको जनाइएको छ ।










