काठमाडौं । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको बताईन् ।
त्यस्तै, बैठकले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद ३ महिना थप गर्ने निर्णय पनि गरेको छ । सरकारले लक्ष्मीकुमारी बस्नेतलाई सचिव पदमा बढुवा समेत गरेको छ । बरीयताको आधारमा बस्नेतलाई सचिव पदमा बढुवा गरिएको पनि मन्त्री शर्माले जानकारी दिईन् ।
सरकारले धानको समर्थन मूल्य तोकेको छ । जसअनुसार मोटा धानको प्रतिक्विन्टल तीन हजार १९८ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ३६२ रुपैयाँ समर्थन मूल्य तोकिएको हो ।










