Logo
Logo

भन्सारका नासुले यसरी गायब बनाए नौ किलो सुन




काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो सुन गायब भएको घटनामा जिल्ला अदालतमा मुद्दा दायर भएको छ । संगठित अपराध र अपराधिक विश्वासघातसम्बन्धि मुद्दा दायर भउको हो ।


‘चोरमाथि चकार’को यो घटनाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले ६ जनालाई पक्राउ गरेको छ । भन्सार कार्यालयका नासु रेवन्त खड्काको योजनामा सो सुन चोरी भएको थियो ।


१० पुस २०७९ को बिहान करिब सात बजे फ्लाइ दुबईको उडानमार्फत चिनियाँ नागरिक लि हासोङ लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन्छन् । उनीसँग दुई वटा वजनदार दुई सुटकेश हुन्छन् । आगमनको भन्सारजाँचको एक्सरेमा उनको सुटकेशमा सुन जस्तो वस्तु देखिन्छ । अर्काेतर्फ ठूलो परिणाममा बिद्युतीय चुरोट ल्याएको भन्दै भन्सारले ‘आरसी ट्याग’ लगाएर उनको दुवै सुटकेश नियन्त्रणमा लिन्छ । पासपोर्ट राखेर भन्सारले चिनियाँ नागरिक होसङलाई जान दिइन्छ । भोलिपल्ट चिनियाँ नागरिक आफ्नो पासपोर्ट फिर्ता लिन्छन् र पर्सिपल्ट आफ्नो देश फर्कन्छन् ।


भन्सारले नियन्त्रणमा लिएका दुई सुटकेश डेढ महिनासम्म आगमनकक्षकै छेउमा थन्किन्छ । २९ माघ विमानस्थल भन्सार कार्यालयको प्रशासनिक भवनमा सारिन्छ । यहीबीचमा विमानस्थल भन्सार कार्यालयका पूर्वसुरक्षागार्ड निर्मल विकले सुराकी पाउँछन्–सो सुटकेशमा रहेका बिद्युतीय चुरोटभित्र सुन लुकाइएको छ । उनको पाएको जानकारी थियो– यसरी सुन रहेको बिद्युतीय चुरोट तान्दा धुँवा आउँदैन । एउटा चुरोट निकालेर उनले परीक्षण गर्छन्, तान्दाखेरी धुँवा आउँदैन । त्यसलाई थप निश्चय गर्न चुरोट फुटाएर सुन पनि निकाल्छन् । त्यसपछि भन्सारभित्र गाईगुई चल्छ, बिद्युतीय चुरोटभित्र ठूलो मात्रामा सुन छ ।
भन्सार एजेन्ट दिनेश बस्नेतले पनि त्यो कुरा थाहा पाउँछन् । सुन हात पार्न उनले नाटकीय योजना बनाउँछन् । सुटकेशभित्र अर्काे बिद्युतीय चुरोट लगेर राख्ने र त्यो निकालेर सुन बेच्ने । त्यसका लागि उनले भन्सारको मुद्दा शाखामा कार्यरत नायब सुब्बा रेवन्त खड्कालाई साझेदार बनाउँछन् । खड्का पनि लोभिन्छन् । योजनाअुनसार २९ फागुनमा नासु खड्काले दुई सुटकेश मुद्दा कोठाबाट भन्सारको फोहोर राख्न कोठामा लैजान्छन् त्यो कोठामा सिसिक्यामेरा नभएकाले बिद्युतीय चुरोट साट्न त्यसरी सारिएको थियो ।


सोही कोठामा अर्काे बिद्युतीय चुरोट राखेर सुन भएको निकालिन्छ । १८ मार्चदेखि १५ अप्रिलको बीचमा त्यसरी बिद्युतीय चुरोट साटिएको सिआइबीको निष्कर्ष छ ।


भन्सारका अन्य कर्मचारीले पनि त्यसमा सुन रहेको सूचना पाएपछि पछि खोलेर हेर्दा पहिलेभन्दा फरक बिद्युतीय चुरोट देखिन्छ । जसआधारमा सुन चोरी भएको आशंकामा भन्सार कार्यालयले बैशाखमा केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा निवेदन दिन्छ । सिआइबीका डिएसपी दुर्गा दाहालको नेतृत्वमा अनुसन्धान सुरु हुन्छ । करिब दुई महिना लामो अनुसन्धानमा भन्सार कर्मचारी, भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरी आइतबार सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । अनुसन्धानमा अझै जारी रहेको र बाँकी विषयमा दोस्रो चरणमा अनुसन्धान गरिने सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्य बताउँछिन् ।

अनुसन्धानको क्रममा शंकास्पद भूमिका देखिएपछि गत ३० जेठमा भन्सार कार्यालयको मुद्दा शाखामा नायब सुब्बा रेवन्त खड्कालाई पक्राउ पर्दछन् । उनले तस्करीको सुन चोरिएको घटनामा आफ्नो संलग्नता स्वीर्काछन् । जसवापत उनले ६५ लाख रुपैयाँ लिएका थिए । जमसध्ये २५ लाख साथीलाई र ४० लाख आफन्तलाई राख्न दिएका थिए । त्यो पैसा सिआइबीले कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमार्फत जफत गराइसकेको छ ।


उनलाई पैसा दिने व्यक्ति भन्सार एजेन्ट दिनेश बस्नेत हुन् । बस्नेतले सो सुन भिनाजु गोपाल सुवेदी र भाई दिपेश बस्नेतमार्फत बिक्रि गरेका थिए । सो सुन बिक्रिमा बिशालबजामार घडी तथा चश्मा पसल चलाउने साहेव राव मर्गलेले मध्यस्तता गर्दछन् । उनले सुनको जाँच गर्ने व्यवसायमा संलग्न भारतीय नागरिक नन्द कुमार पाण्डरम मर्गले लगायतलाई सुन बिक्रि गरेका थिए । उनी अनुसन्धान सुरु हुुनअघि नै भारत भागेका छन् । जसकारण प्रहरीले तस्करीको सुन बरामद हुन सकेको छैन ।


करिब नौ किलो सुन ६ करोडमा बिक्रि भएको अनुसन्धानमा खुलेको छ । बिक्रि गरेकोमध्ये ८० लाख भन्सार एजेन्ट बस्नेतकै बैंक खातामा भेटिएको छ । त्यस्तै, उनीहरुले सिन्धुपल्चोक घर भएका मेडिकल व्यवसायी अमृत कार्कीको नाममा भक्तपुरको ठिमीमा जग्गा पनि खरिद गरेको भेटिएको छ । कार्कीलाई पनि सिआइबीले पक्राउ गरिसकेको छ । तर, सुन चोरीको घटनासँग कार्कीको पनि प्रत्यक्ष संलग्नता देखिएको छैन । साथीले आग्रह गरेपछि आफ्नो नाममा जग्गा पासगरिदिएको उनले बयान दिएका छन् । दिनेशले आफ्ना ससुुरा रामकेशव थापा क्षेत्रीको नाममा पनि केही सम्पत्ति लुकाएको सिआइबी अनुसन्धानमा खुलेको छ । यो घटनामा नासु खड्का, भन्सार एजेन्ट बस्नेत, भन्सारका पूर्वसुरक्षागार्ड निर्मल विक, सुन बेच्न मध्यस्तता गर्ने वेद प्रकाश अग्रवाल र साहेव राव मर्गले तथा सुनको पैसाले जग्गा किन्ने अमृत कार्की सिआइबी हिरासतमा छन् भने अन्य फरार छन् । भन्सारका पूर्वसुरक्षागार्ड विकले एउटा चुरोटमा भएको सुन मात्र आफुले पाएको बताएका छन् । यद्यपी अनुसन्धानको क्रममा उनले ४० वटा चुरोटमा भएको सुन चोरेको निष्कर्ष छ । भन्सारका सामान चोरी गरेर बिक्रि गरेकै आधरमा उनलाई त्यहाँबाट केही महिनाअघि मात्र हटाइएको थियो ।


पक्राउ परेका ६ तथा केही फरारविरुद्ध प्रहरीले अपराधिक विश्वासघात र संगठित अपराध कसुरमा मुद्दा प्रक्रिया अघि बढाएको छ । सुन तस्करी गर्ने गिरोहका विषयमा भने थप अनुसन्धान चलिरहेको सिआइबीका डिएसपी दाहाल बताउँछन् । यसका प्रतिवादीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धि कसुरमा पनि अनुसन्धान हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्