Logo
Logo
कला

‘चलचित्र क्षेत्रमा नयाँलाई हेप्दा रहेछन्’



भक्तपुर चाँगुनारायणकी रेश्मा श्रेष्ठ पत्रकारिताकी विद्यार्थी हुन् । हालैमात्र पत्रकारिता विषयमा स्नातक गरेकी रेश्मा अभिनीत नेपाली फिल्म ‘अन्तिम संस्कार’ हाल प्रदर्शन भइरहेको छ । फिल्ममा उनी पत्रकारकै भुमिकामा देखिएकी छन् । अभिनेत्री मिथिला शर्माको अभिनय र नृत्यबाट प्रभावित भएर कलाकारिता रोजेकी रेश्मा पत्रकारिता गर्न रुचाउँछिन् ।

‘म गम्भीर स्वभावकी छु’ २४ वर्षीया रेश्मा भन्छिन्, ‘साथै, मलाई नयाँ नयाँ कुरा जान्न र बुझ्न सधैं उत्सुकता लाग्छ, त्यो पत्रकारिता पेसामा पाइन्छ, त्यसैले मलाई पत्रकारितामा रुची छ ।’ म्युजिक भिडियोमार्फत कलाकारितामा करिअर सुरु गरेकी रेश्माले अभिनय र नृत्य पनि सिकेकी छन् । डेढ दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी रेश्मा भन्छिन्, ‘अहिले चाहिँ मोडलिङलाई भन्दा फिल्ममा प्राथमकिता दिएकी छु ।’ अभिनेत्री तथा मोडल रेश्मा श्रेष्ठसँग दृष्टिको जम्काभेट :

कलाकारिता क्षेत्र कस्तो लागिरहेको छ ?
सुरुका दिनहरुमा निकै असहज भयो र लाग्थ्यो । काम गर्दै जाँदा कठिनाइहरु पनि आए । कलाकारिता क्षेत्रमा नयाँ हुँदा असहज हुने रहेछ । तैपनि असहज परिस्थितिलाई सामना गर्दै सहज लिँदै आएँ । अहिले त सहज र रमाइलो नै लागिरहेको छ ।

असहज र कठिनाइ भन्नाले ?
नयाँ हुँदा हेपाइ खानुपर्ने । विविध आरोपहरु आउने । शोषणका कुराहरु पनि आउने । काम पाउनका लागि शरीर सुम्पिनुपर्ने जस्ता कठिनाइहरु आए । जुन कुराले परिवारबाट समेत त्यस्तो नराम्रो क्षेत्रमा किन लागेको ? भन्दै प्रश्न उठाएपछि म झण्डै डिप्रेशनमा गएँ । जसले गर्दा एक वर्ष म ग्याप पनि भएँ ।

तपाइँलाई सम्झौता गर्ने प्रस्ताव आएको थियो ?
आएको थियो । तर, आफ्नै मिहिनेतले अगाडि बढ्छु भनेर सम्झौता गरेर काम गर्न चाहिनँ । फिल्मका काम पाउनका लागि सम्झौता गर्न चाहन्न पनि । अहिले पनि मलाई फिल्मका लागि अफरहरु आइरहेको छ । तर, वास्ता गरेकी छैन । म संघर्ष गरेरै अगाडि बढ्ने उद्देश्यले काम गर्दै आएकी छु । मिहिनेत र संघर्ष गरेर काम गर्नु मज्जा पनि आउने रहेछ । म अहिले पनि संघर्षरत छु । काम पनि पाइरहेकी छु ।

कला क्षेत्रमा कसरी लाग्नुभयो ?
सानैदेखि अभिनय र नृत्य गर्न रुचाउँथे । तर, जब ब्याचुलर पढ्दै थिएँ, त्यतिबेला अभिनय र मोडलिङमा मेरो रुची भएकाले साथीहरुलाई ‘मोडलिङ र अभिनयका लागि अवसर आयो भने मलाई भन्नु’ भनेर आग्रह गरेकी थिएँ । त्यही अनुसार मलाई एउटा म्युजिक भिडियोका लागि अफर आयो । उक्त भिडियो चल्यो पनि । त्यसपछि मैले कलाकारिता गर्न सुरु गरेकी हुँ ।

कलाकारितामा आकर्षित कसरी हुनुभयो ?
सानोमा मिथिला शर्माको अभिनय र नृत्य मलाई एकदमै मन पर्दथ्यो । उहाँको नृत्य र अभिनय टिभीमा हेरेर प्रभावित भएँ । त्यही प्रभावले गर्दा यो क्षेत्रमा लागेकी हुँ ।

तपाइँ अभिनीत फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शन भइरहेको छ । कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
अहिलेसम्म राम्रो प्रतिक्रिया पाइरहेकी छ । फिल्म पनि राम्रै चलिरहेको छ । ‘अन्तिम संस्कार’ फरक धारको फिल्म हो । फिल्ममा मैले पत्रकारको भूमिका निर्वाह गरेकी छु ।

फिल्ममा पत्रकारको भूमिका गर्दा पत्रकारिताबारे के बुझ्नुभयो ?
म पत्रकारिताकै विद्यार्थी हुँ । अहिलेको अवस्थामा मात्र नभएर पत्रकारिता पेसा जहिले पनि चुनौतीपूर्ण हुन्छ । मलाई चुनौती मोलेर काम गर्न मनपर्छ । चुनौती मोलेर काम गर्नु एक किसिमले रमाइलो पनि हुन्छ । त्यही कारण कलेजमा पत्रकारिता विषय रोजेकी हुँ । म गम्भीर स्वभावकी छु । नयाँ नयाँ कुरा थाहा पाउन र गहिरो जानकारी लिनु मेरो सानोदेखिको आदत हो । जुन कुरा पत्रकारिता पेसाबाट पूरा हुन्छ भन्ने मलाई लाग्छ ।

तपाइँलाई कस्तो विषयवस्तु भएको फिल्ममा काम गर्ने इच्छा छ ?
कलाकार भइसकेपछि जस्तो पनि फिल्म र भूमिका निर्वाह गर्नुपर्छ भन्ने छ । गर्नु पनि पर्छ । तर, मलाई चाहिँ इनोसेन्ट अर्थात गम्भीर भूमिकामा काम गर्नु रुचाउँछु । किनकि अघि नै भनिसके नि, म रियल लाईफमा पनि गम्भीर स्वभावकी छु ।

अहिलेसम्म कति भिडियोमा मोडलिङ गर्नुभयो ?
म यो क्षेत्रमा लागेको पाँच वर्ष ठ्याक्कै भयो । यस अवधिमा १५÷१६ वटा म्यजिक भिडियोमा मोडलिङ गरेकी छु । र, यही अवधिमा फिल्म ‘अन्तिम संस्कार’मा काम गरेँ । टेलि सिरियलहरुमा काम गरिरहेकी छु । अहिले पनि म सिरियलमै व्यस्त छु ।

अभिनय र नृत्य सिक्नुभएको छ कि छैन ?
कलाकारिता सुरु गर्दा सिकेकी थिइनँ । तर, काम गर्दै जाँदा कलाकारिता बुझ्नका लागि सिक्नु आवश्यक ठानेँ । त्यसैले सर्वनाम थिएटरमा एक वर्ष अभिनयको कोर्ष गरेँ । नृत्य अहिले पनि सिकिरहेकी छु ।

अहिले कति वर्ष पुग्नुभयो, भन्न मिल्छ ?
किन नमिल्नु, जति मिल्छ, अहिले २४ वर्षमा हिँडिरहेकी छु । चाँडै २५ लाग्दैछु ।

तपाइँ अहिले सिंगल नै होइन त ?
हो, प्रेम प्रस्ताव नआएर सिंगल बसेकी चाहिँ होइन । विहेको लागि समेत प्रस्ताव आएको हो । तर, प्रेमको चक्करमा परियो भने करिअरलाई अगाडि बढाउन सकिँदैन भनेर इग्नोर गर्दै आएकी छु । अहिले करिअर कसरी बनाउने भन्नेतिर बढी ध्यान दिएकी छु ।

प्रतिक्रिया दिनुहोस्