Logo
Logo

मिटरब्याजसम्बन्धी आयोगमा २४ हजार उजुरी, ४१ विघा जग्गा ऋणीलाई फिर्ता


882
Shares

काठमाडौं । मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले काम सुरु गरेको करिब डेढ महिनाको अवधिमा मिटरब्याजीले हडपेको ४१ विघा ८ कठ्ठा ११ धुर जग्गा ऋणीलाई फिर्ता गराएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आइतबार विज्ञप्ति जारी गरी साे जानकारी गराएको हो ।

आइतबार अध्यक्ष कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न जिल्लामा साहुहरुबाट अदालतको फैसलाबाट जितेका, साहु वा उनका मान्छेका नाममा ऋणी आसामीबाट राजीनामा पास गराएका, बन्धकीलगायत जग्गा पीडित ऋणीलाई फिर्ता गराइयो ।’
आयोगले २०८० वैशाख १७ देखि जेठ १४ गतेसम्म पीडितबाट निवेदन संकलन गरेको थियो । त्यसपछि मेलमिलापबाट समस्या समाधानको पहल गर्दै आएको अध्यक्ष कार्कीले बताएका छन् ।

मिटरब्याजबाट पीडित भएको भनी आयोगमा हाल करिब २४ हजार उजुरी परेको जनाइएको छ । तीमध्ये मधेशका ८ जिल्लाका १८ हजारभन्दा धेरै उजुरी रहेका छन् । उजुरीमध्ये डेढ महिनामा एक हजार ८८२ वटा निवेदन मेलमिलापबाट समस्या समाधान गरिएको कार्कीले बताएका छन् ।

ती उजुरीमा मिटरब्याज पीडितले ८९ करोड ८० लाख १४ हजार ४७३ रुपैयाँको खास लेनदेन भएको दाबी गरेका थिए । तर, साहुहरुले भने १ अर्ब ७१ करोड २८ लाख ८२ हजार ७९६ रुपैयाँ साँवाब्याज असुल हुनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्