काठमाडौं । नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण महिला फुटबल शृंखला जितेको छ । आइतबार भएको अन्तिम मैत्रीपूर्ण खेलमा घरेलु टोलीलाई टाइब्रेकरमा पछि पार्दै नेपाल विजयी भएको हो ।

पहिलो खेल १–१ को बराबरी खेलेका नेपाल र बंगलादेशले दोश्रो खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंग्याएका थिए । त्यसपछि विजेता छान्न ढाकास्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा टाइब्रेकर गरिएको थियो । जसमा नेपाल ४–२ ले विजयी भएको हो ।
टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो । अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो ।
बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली छोएको थियो भने मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाएकी थिइन् ।














