Logo
Logo

शरणार्थी प्रकरणमा छुटेका केशव सीआईबीको फन्दामा


9.6k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ लाख रुपैयाँ धरौटीमा छुटेका केशव तुलाधरलाई केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले पक्राउ गरेको छ ।

बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पनि संलग्न रहेको भन्दै सीआईबीले उनलाई पक्राउ गरेको हो । ललिता निवास प्रकरणमा जोडिएपछि प्रहरीले सीआईबीलाई जिम्मा लगाएको छ ।

ब्यूरोका एसएसपी दिनेश आचार्यका अनुसार उनको नाममा ललिता निवासको दुई रोपनी सरकारी जग्गा गएको देखिएको थियो । हाल प्रहरी हिरासतमा रहेका मीनबहादुर गुरुङसहित अन्य केही व्यक्तिमार्फत बालुवाटारको जग्गा उनको नाममा गएको देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरुको भनाई छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै लाखौं असुली गरेको आरोपमा तुलाधरलाई २८ असारमा पक्राउ गरेको थियो ।

यो ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो । त्यसबेला तुलाधरलाई फरार प्रतिवादीका रुपमा मुद्दा पेश गरिएको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीका अनुसार शरणार्थी प्रकरणबारे अनुसन्धान सुरु भएलगत्तै उनी भारत भागेका थिए । हालै नेपाल छिरेको थाहा भएपछि प्रहरीले उनलाई सानो भर्‍याङबाट नियन्त्रणमा लिएर अदालत पेश गरेका थिए ।

शरणार्थी प्रकरणको थुनछेक बहसपछि कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलगायत १६ जना हाल पुर्पक्षका लागि थुनामा छन् । दुई जना भने धरौटी बुझाएर रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्