Logo
Logo
ललिता निवास प्रकरण

सचिव राउतसहितको रिट न्यायाधीश ढुङ्गाना र सुवेदीको इजलासमा


1k
Shares

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका वहालवाला सचिव कृष्णबहादुर राउत, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहितको रिटमा आज सुनुवाइ हुँदैछ ।

उनीहरुले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरकणको रिट निवेदन न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुने भएको हो ।

यसअघि आइतबार पनि उक्त रिटमा सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो । तर सुनुवाइ हुन नसकेपछि माथेमा र श्रेष्ठको इजलासले सोमबारलाई पेसी राखेर सुनुवाइ गर्ने आदेश दिएको थियो ।

साउनको एक हप्ता अदालतले नियमित मुद्दाको सुनुवाई स्थगित गर्ने अभ्यास छ । अघिल्लो आर्थिक वर्षका बाँकी फैसलाहरु लेखनका लागि एक साता न्यायाधीशहरुलाई समय दिने चलन भएका कारण सर्वोच्चमा बन्दी र केही निवेदनहरु मात्र सुनुवाइ हुने गर्दछन् ।

सोही कारण सचिव राउतसहित शाह, गुरुङको निवेदन बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित भएकाले आज सोमबारलाई पेसी तोकिएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउँदा सरकारी कागजात तथा दस्तखत कीर्ते गरेको देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा संलग्न रहेको पाइएको भन्दै सीआईबीले पक्राउ गरेपछि उनीहरुले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन् ।

सरकारी जग्गा किर्तेमा केही आरोपित व्यक्तिहरु अदालतको अन्तरिम आदेशले धरौटीमा रिहा भएको, तर आफूहरुलाई भने गैरकानुनी रुपमा थुनामा राखेको भन्दै निर्वाचन आयोगका पूर्व आयुक्त शाह, भाटभटेनी डिपार्टमेन्न्ट स्टोरका सञ्चालक गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसााद गौतम असार १३ गते सर्वोच्च पुगेका थिए । सोही प्रकरणमा बहालवाला सचिव कृष्णबहादुर राउत पनि पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्