Logo
Logo
कला

‘सानैदेखि म चुलबुले स्वभावकी हुँ’



अहिलेकी व्यस्त र चर्चित गायिका हुन् अनिता चलाउने । तर, उनको परिचय यतिले मात्र काफी हुँदैन । उनी एक कुसल सञ्चारकर्मी पनि हुन् । ‘आहा मेरो मायालाई’, ‘विदेशी पीआर छ’, ‘फुटेको चुरा’जस्ता चर्चित गीतका गायिका अनिता गायनसँगै सञ्चार क्षेत्रमा पनि सक्रिय छन् । अछाममा जन्मेर बर्दियामा हुर्केकी अनिता ६ वर्षदेखि नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रुपमा काम गर्दै आएकी छन् ।

नेपाल टेलिभिजनमा ‘सिर्जनाका सारथि’ हुँदै हाल अनिताले ‘संगीत तरंग’ नामक कार्यक्रम सञ्चालन गर्दै आएकी छन् । पाँच दर्जनभन्दा बढी गीत गाइसकेकी अनिता अचानक गायनमा लागेकी हुन् । सानैदेखि टेलिभिजनमा समाचार वाचिका बन्ने उद्देश्य लिएकी अनिता पत्रकारिता अध्ययनकै क्रममा गायनमा प्रवेश गरेकी हुन् । अनिता भन्छिन्, ‘गायिका बन्ने सोच थिएन । तर, पत्रकारिता अध्ययनकै क्रममा गायिका बन्ने अवसर जु-यो ।’ हिजाआज भने उनी गायिकाकै रुपमा चिनिन चाहन्छिन् । गायिका तथा सञ्चारकर्मी अनिता चलाउनेसँग एमपी सुब्बाको जमकाभेट :

आजभोलि के गर्दै हुनुहुन्छ ?
गायन र सञ्चारकर्ममै व्यस्त छु । हालैमात्र मेरो ‘कर्णाली पारीको भेनाजु’ बोलको देउडा गीत आएको छ । जसमा डिबी खड्को शब्द र विनोद बाजुरालीको संगीत रहेको छ । उक्त गीतमा रवि ओडको पनि स्वर छ । अब लगत्तै खेम सेन्चुरी र मेरो युगल गीत ‘जोवन यस्तै होकि’को भिडियो बनाउँदै छु । जसमा पल शाह र मल्लिका महतले अभिनय गर्दैछन् ।

गायन क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
सानैदेखि गाउँघर र विद्यालयमा हुने सांगीतिक कार्यक्रमहरुमा भाग लिन्थेँ । तैपनि गायिका हुन्छु भनेर सोचेकी थिइन । मेरो इच्छाचाहिँ टेलिभिजनमा समाचार वाचिका बन्ने थियो । म सानैदेखि चुलबुले स्वभावकी थिएँ । त्यसैले दिदीले यसलाई पढन्तेभन्दा टेक्निकल विषयमा पढाउनुपर्छ भन्नुहुन्थ्यो । कोमल वली र अनिता विन्दुले समाचार भनेको सुन्दा समाचार वाचिका बन्ने इच्छा जागेको हो । गायनमा लाग्ने त पारिवारिक माहोल नै थिएन । त्यसैले काठमाडौं आएर डिल्लाबजारस्थित पद्मकन्या क्याम्पसमा पत्रकारिता विषय लिएर कलेज जोइन गरेँ । सोही क्रममा गायनमा लाग्ने बाटो खुलेको हो ।

पत्रकारिता पढ्दै गर्दा कसरी अवसर जु-यो ?
०६९ सालतिरको कुरा हो, त्यतिबेला पत्रकारिता पढ्दै थिएँ । पत्रकारिताको विद्यार्थी भएकाले कलेजले रेडियो नेपालको अवलोकन तथा भ्रमण गराएको थियो । त्यतिबेलै रेडियो नेपालमा आधुनिक गायनतर्फ स्वर परीक्षाका लागि आवेदन खुलेको थियो । गायनमा मेरो भित्री रुची थियो । त्यसैले फर्म भरेँ । स्वर परीक्षा पनि पास भएँ । त्यसपछि गायन सुरु गरेकी हुँ ।

गायनमा औपचारिक रुपमा कहिलेदेखि हुनुहुन्छ ?
औपचारिकरुपमा गायन अँगालेको चाहिँ २०७०/०७१ देखि हो । स्वर परीक्षा पास गरेपछि सुशील विश्वकर्माको संगीत र विष्णुबाबु देवकोटाको शब्दमा ‘जति अघि बढेपनि क्षितिज पर सर्छ’ बोलको गीत गाएँ । त्यसपछि लगातार गाउन थालेँ । लगत्तै पशुपति शर्मासँग ‘नाची देउ झिल्के’ बोलको तीज गीत गाएँ । गीत चल्यो पनि । त्यसपछि सबैले तिम्रो स्वर राम्रो छ, गायनलाई निरन्तरता देउ भनेपछि संगीत सिक्न थालेँ । मैले असनस्थित गन्धर्व संगीत विद्यालयमा गुरु चन्दन श्रेष्ठसँग संगीत सिकेकी हुँ ।

गायनमा लागेपछि अध्ययनमा असर परेन ?
त्यस्तो असर परेन किनकि, प्लस–टु सकेपछि खाली भएको समयमा संगीत सिकेँ । त्यही समयमा आफ्नो अध्ययनको विषयअनुसार काम गर्नुपर्छ भनेर एउटा अनलाइनमा पनि काम गर्न थालेँ । त्यो अनलाइनमा दुई वर्ष कार्यक्रम सञ्चालन र समाचार बनाउने काम गरेँ । आफूले पढेको विषयमा केही गर्नुपर्छ भनेर आफ्नै मिडिया हाउस पनि खोलेकी छु । मेरो अनलाइन मिडियाको नाम हो, ‘के छ नेपाल’ । अहिले गायनसँगै टेलिभिजन कार्यक्रम प्रस्तोता र अनलाइन मिडिया सबैमा सक्रिय रुपमा लागेकी छु ।

तीनतिर समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
इच्छाशक्तिको कुरा हो । इच्छाशक्ति भएमा समयको व्यवस्थापन गर्न गाहे नहुने रहेछ । जस्तै, मैले समय दिन भ्याइरहेकी छु ।

टेलिभिजनमा काम गर्नु थाल्नुभएको कति भयो ?
६ वर्ष पूरा पुग्यो । ०७३ सालदेखि हो । त्यो वर्ष नेपाल टेलिभिजनले गीत संगीतसमन्धी कार्यक्रम सञ्चालन गर्ने व्यक्ति खोृजिरहेको थियो । मेरो सानैदेखि इच्छा भएकाले डकुमेन्ट बुझाएँ । सेलेक्शन पनि भएँ । त्यसपछि ‘सिर्जनाका सारथी’ नामक कार्यक्रम सञ्चालन गर्न थालेँ । जुन कार्यक्रममा दशकभन्दा बढी गीतसंगीत र साहित्यमा योगदान गरेका स्रष्टा एवं व्यक्तित्वहरुको प्रोफाइल लिएर कार्यक्रम बनाउँथेँ । त्यतिबेला राष्ट्रकवि माधवप्रसाद घिमिरे, मीरा राणा, ज्ञानु राणा, योगेश वैद्य, यादव खरेल, रत्नसम्शेर थापा, शम्भुजीत बास्कोटा जस्ता अग्रज स्रष्टाहरुको प्रोपाइलसहित कार्यक्रम तयार गरेकी थिएँ । अहिले चाहिँ ‘संगीत तरंग’ कार्यक्रम चलाउँदै आएकी छु, जसमा सबै पुस्ताका कलाकारलाई समेटिने गर्छ ।

तपाइँ कार्यक्रम प्रस्तोता हो कि गायिका ?
आफूलाई गायिकाकै रुपमा चिनाउन चाहन्छु । अहिले प्राथमिकता पनि गायनलाई दिँदै आएकी छु । कार्यक्रम प्रस्तोता भनेको त मेरो अध्ययनको विषय हो । र, गायनबाट गर्न सकिएन भने पत्रकारिता मेरो ‘ब्याकअप’ हो ।

तपाइँलाई चिनाउने गीत कुन हो ?
‘आहा मेरो मायालाई’, ‘म त सुदूरकी चेली’, ‘विदेशी पीआर छ’, ‘फुटेको चुरा’, तीज गीत ‘यस्तो बनोस् मेरो तीज’ लगायतका गीतले मलाई चिनाएको हो । यी गीतहरुले नै मलाई देश विदेशसम्म पु¥याएको छ ।

अहिले गायनबाट खुसी हुनुहुन्छ ?
खुसी छु किनकि गायनमा लागेर दर्शक र शुभचिन्तकको माया र हौसला पाएकी छु । जुन मैले सोचेकै थिएन । नसोचेको क्षेत्रबाट नाम दाम र दर्शकको माया पाएकी छु ।

प्रतिक्रिया दिनुहोस्