Logo
Logo

सुन तस्करीमा राजनीतिक कनेक्सन


1.2k
Shares

काठमाडौं । उच्च राजनीतिक सेटिङबिना सुन तस्करीको सम्भावना छैन । नेपालमा जति पनि सुन तस्करीको घटना भएका छन्, त्यो सबै उच्च राजनीतिक सेटिङमा हुने गरेको छ ।

यही आधारलाई विश्लेषण गरेर हेर्ने हो भने पनि अहिले बरामद भएको सय केजी सुन तस्करीमा पनि राजनीतिक संलग्नता छ । अर्थ मन्त्रालय अन्र्तगतको भन्सारले सुन छुटाउने र प्रधानमन्त्री कार्यालय अन्र्तगत रहेको राजश्व अनुसन्धान विभागले सुन पक्राउ गर्ने कुरा संयोग मात्र हुन सक्दैन ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको गत शुक्रबारको भनाइले पनि यसमा राजनीतिक संलग्नता छ भन्ने प्रष्ट हुन्छ । विमानस्थलको अनुगमनपछि पत्रकारसँग बोल्दै उनले सुन तस्करीमा तीन ‘ब’ले रोक्न नसक्ने बताएका थिए । बालुवाटार, बुढानिलकण्ठ र बालकोटाले यसलाई प्रभावित गर्न नसक्दै भन्दै उनले भनेका थिए, ‘कुनै टार वा कोटका मान्छे भएपनि छाड्दैनौं ।’

हिजो सोमबार मात्रै गृहमन्त्री श्रेष्ठले राजनीतिक दलका नेता दोषी देखिए उनीहरूलाई पनि कारबाही गर्ने बताएका छन् । उनले निमुखा जनतालाई मात्रै नभइ भ्रष्ट नेता, व्यापारी र कर्मचारीलाई पनि कारबाही गर्न सरकार पछि नपर्ने स्पष्ट पारे । उनले भनेका छन्, ‘माओवादी केन्द्रको होस्, कांग्रेसको होस्, एमालेको होस्, एकीकृत समाजवादीको होस्, जनता समाजवादीको होस् मलाई कुनै मतलब छैन । भ्रष्टाचारीलाई कुनै हालतमा छाड्दिनँ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भइरहेको सूचना पाएरै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना निजी सचिव रहेका नवराज ढुंगानालाई असारको दोस्रो साता राजश्व अनुसन्धान विभागको महानिर्देशकमा पठाएका थिए । अर्थमन्त्री प्रकाशशरण महतले पनि केही हप्ताअघि मात्र भन्सार विभागको महानिर्देशक परिवर्तन गरी शोभाकान्त पौडेललाई खटाएका थिए ।

भन्सार विभागका महानिर्देशक पौडेलले त्यत्रो परिणामको सुन भन्सारबाटै बाहिरिएको थाहा नपाउनु, राजश्व अनुसन्धान विभागले त्यही सुन पक्राउ गर्नुले बालुवाटार र अर्थमन्त्रीसँगको सेटिङ भत्किएको प्रष्ट हुन्छ । नत्र सुन पक्राउ पर्ने सम्भावना नै नभएको स्रोतले बताएको छ ।

सनम शाक्य हत्या र २८ क्विन्टल सुन तस्करीको छानबिनको क्रममा नेपालमा सुन तस्करीको धन्दामा करिब तीन सय जना व्यक्तिको संलग्नता पत्ता लागेको थियो । त्यसमा उच्च पदस्थ व्यापारीमा मात्र थिएनन्, केही नेताहरू समेत संलग्न थिए । तर, उच्चपदस्थमाथि अनुसन्धान टुंगोमा नपुग्दै छानबिन समितिको म्याद सकियो ।

गृह मन्त्रालयका सहसचिव ईश्वराराज पौडेल नेतृत्वको समितिले थप छानबिन गर्नुपर्ने व्यक्तिको नाम किटान गरी २०७५ सालको साउनमा तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो । तर, अहिलेसम्म त्यो प्रतिवेदन सिंहदरबारमै थन्किएको छ । प्रतिवेदन थन्किदा त्यसमा संलग्न व्यक्तिहरू भने फेरि सुन तस्करीमा सक्रिय हुन थालेका छन् ।

प्रतिवेदन बुझ्दै गर्दा तत्कालीन प्रधानमन्त्री ओलीले सुन खोज्नु, मान्छे नखोज्नु भनेबाटै ओलीको नियत प्रष्ट देखिएको छानबिन समितिका अधिकारीहरु बताउँछन् । ओलीकै पालामा सुराकी खर्च कटौती गर्नुले पनि सुन तस्करसँगको ‘कनेक्सन’ खुलेको छ ।

एक साताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब एक सय केजी सुनको तस्करीमा पनि पुरानै समूहको संलग्नता देखिएको छ । भन्सारका कर्मचारी समेतलाई सेटिङमा राखेर सो समूहले सयौं केजी सुन तस्करी गरेको प्रारम्भिक छानबिनमा पुष्टि भइसकेको छ ।

तस्करीमा भरिया तहका व्यक्ति पक्राउ परेपनि त्यसमा उच्च तहका व्यापारी फरार भइसकेका छन् । नेपालमा विभिन्न आवरणमा सुन र हुन्डीको कारोबारमा संलग्न व्यक्तिहरू यसमा सक्रिय रहेको राजश्व अनुसन्धान विभागको छानबिनले देखाएको छ ।

स्रोतका अनुसार ‘राकेश अडुकिया, विमल पोद्दार लगायत व्यक्तिको यसमा कनेक्सन पत्ता लागिसकेको छ,’ विभागका एक अधिकारी भन्छन्, ‘थप को–को छन् भन्ने विषयमा केही दिनमा रहस्य खुल्नेछ ।’ व्यापारी पोद्दार यसअघि सनम शाक्य हत्याकाण्डमा पनि पक्राउ परेका विवादास्पद व्यापारी हुन् ।

हुन्डी तथा विदेशी मुद्राको कारोबारमा पनि उनी संलग्न हुँदै आएका छन् । यसरी कमाएको पैसाबाट उनले अपार्टमेन्टदेखि रेष्टुरेन्ट, सुन पसलमा समेत लगानी गरेका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत उनीमाथि छानबिन गरेपछि सेटिङमा अनुसन्धान तामेलीमा राखिएको छ । उनीनिकट धेरै व्यक्तिहरू नेपालमा सुन तस्करी र हुन्डीको धन्दामा निरन्तर सक्रिय छन् ।

राकेश अडुकिया गोर्खा विकास बैंकको घोटालादेखि शेयर बजारमा चलखेलका कारण बदनाम व्यापारी हुन् । उनीहरूले नै नेपालबाट भारतमा सुन लैजानै आएका थिए ।

राजश्व अनुसन्धान विभागले हालसम्म यसमा १६ जनालाई पक्राउ गरे पनि त्यसमध्ये दुई जना मात्र कारोबारी छन् । अरु सहयोगी भूमिकामा रहेका व्यक्तिहरू हुन् । कारोबारीमा चिनियाँ नागरिक र भारतीय नागरिक छन् । भन्सारका तीन कर्मचारी पनि पक्राउ परेका छन् ।

भन्सारका कर्मचारी पक्राउ पर्नुले यसमा राज्यसंयन्त्रमा तस्करको सेटिङ प्रष्ट भएको छ । त्यो सेटिङ केही कर्मचारीमै सिमित थियो कि माथिल्लो तहसम्म भन्ने विषयमा राजश्व अनुसन्धान विभागले पनि विस्तृत छानबिन गर्नेमा शंका व्यक्त गरिएको छ ।

कर्मचारीमाथि विस्तृत छानबिन हुन सकेमा तस्करीको गिरोह पर्दाफास हुने निश्चित छ । तर, अनुसन्धानमा ढिलाई हुँदा नाइकेहरू फरार भइसकेका छन् । हरेक पटक सुन बरामद हुँदा नायकेहरू जोगिने गरेका छन् । अहिले पनि कतै सरकारले नै मुख्य नाइकेहरूलाई जोगाउन खोजेको त होइन भन्ने प्रश्न उठेको छ ।

यो घटनाले नेपालमा सुन तस्करीमा अन्तर्राष्ट्रिय गिरोह सक्रिय छ भन्ने देखाएको छ । चीनबाट नेपाल हुँदै भारतमा महिनामैं सयौं केजी सुन तस्करी हुँदै आएको छ । यसमा नेपालमा कर्मचारी, प्रहरी र राजनीतिक नेतृत्वको पनि संलग्नताको प्रमाण पटक पटक भेटिएका छन् । यसरी सुन ल्याउन समूहले पछिल्लो तीन महिनामा ३७ पटक हङकङबाट ब्रेकसु तथा सेभर ल्याएको थियो । अधिकांश समय त्यसभित्र लुकाएर सुन ल्याएको आशंका गरिएको छ ।

हालैमात्र माओवादी नेता कृष्णबहादुर महराले समेत सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई सघाएको खुलेको छ । विद्युतीय चुरोटभित्र लुकाएर सुन तस्करी गर्ने चिनियाँसँग उनको पटक पटक सम्पर्क देखिएको थियो । तर, चिनियाँ नागरिकलाई पक्राउ गर्न नसक्दा यसमा महराको संलग्नतामाथि प्रहरीले विस्तृत अनुसन्धान गर्न सकेको छैन । महराले चिनियाँसँग सम्पर्क स्वीकार गरेका छन् । तर, उनको सुन तस्करीको घटनाबारे जानकारी नभएको दाबी गरेका छन् ।

सुन तस्करीमा संलग्न कतिपय व्यापारीहरूको राजनीतिक तथा प्रहरी नेतृत्वसँग घनिष्ठता रहेको प्रहरी स्रोत बताउँछ । सोही कारण उनीपटक पटक पटक जोगिदै आएका छन् । अहिले संगठित अपराधमा अनुसन्धान नभएको राजश्व अनुसन्धान विभाग त अझै नाइकेसम्म पुग्नेमा शंका व्यक्त गरिएको छ ।

एक किलो सुन तस्करीमा १२ लाख रुपैयाँसम्म नाफा हुने गरेको छ । जसकारण कहिलेकाँही सुन बरामद भएपनि तस्करहरूले यो धन्दा छाड्ने गरेका छैनन् । त्यसकारण नेपाल सुन तस्करको ट्रान्जिट बन्दै गएको छ । यसको कनेक्सन राजनीतिक नेतृत्वसँग जोडिने जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्