Logo
Logo

पल्टनको फोटोमाथि अन्तरविमर्श


- दृष्टि न्युज/संवाददाता


 

काठमाडौं, १३ पुस । डायास्पोरा साहित्यका सिद्धान्तकार, युद्धसौन्दर्य चिन्तक तथा साहित्यकार रक्ष राईको कथासङ्ग्रह ‘पल्टनेको फोटो’माथि राजधानीमा अन्तरविमर्श कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाली वाङ्मय परिषद् र नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित अन्तरविमर्श कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार तथा समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले रक्ष राई नेपाली डायास्पोराका असङ्ख्य स्रष्टा मध्ये सर्वश्रेष्ठ स्रष्टा भएको दाबी गरे । उनले भने, ‘रक्ष एक तपस्वी हुन्, एक ऋषि हुन् । जो चिन्तन, मनन् र सिर्जनामा दिनरात तल्लिन रहन्छन् । उनको यो कृतिभित्र त्यही गहन चिन्तन र मनन्द्वारा खारिएर आएका, लेखिएका कथाहरू समाविष्ट छन्, जसले ज्ञानको तिर्खा मेटाउँछन्, नेपाली साहित्यमा यस्ता कृति कमै मात्र लेखिएका छन् ।’ उनले अनुवाद भाषाको मात्रै नभएर पात्र, परिस्थिति र चेतनाको पनि अनुवाद हुने विचार व्यक्त गरे । पल्टनेको फोटो अंग्रेजी भाषामा अनुवाद भएर विश्वमा जान लायक नेपाली साहित्यिक कृति भएको उनको दाबी थियो ।
प्रा.डा. ज्ञानू पाण्डेले कथाकार राईमा जीवन र जगत्का विविध पक्षलाई फरक शैलीमा प्रस्तुत गर्ने क्षमता रहेको बताइन् । उनले भनिन्, ‘रक्षजीमा आम लेखकका भन्दा छुट्टै शैली छ कथावाचन गर्ने । जसले उनका कथा शक्तिशाली लाग्छन् ।’ पाण्डेले कथाकार आफैँ डायास्पोराभोक्ता भएका कारणले पनि कथामा खास डायास्पोरिक स्वाद पाइने दाबी गरिन् ।
कथाकार मातृका पोखरेलले राई नेपाली डायास्पोराकै विशिष्ट स्रष्टा भएको उल्लेख गर्दै साहित्यमा मूल धार, मोफसल वा प्रवास भन्ने जस्ता कुरा भ्रम रहेको बताए । उनले भने, ‘पल्टनेको फोटोभित्रका कथाले यही कुराको पुष्टि गर्दछन् ।’
मुन्धुम अध्येता भोगीराज चाम्लिङले जीवन, जगत् र समाजको मनोविज्ञान बुझेर लेखिएको साहित्य प्रभावकारी र कालजयी हुने धारणा व्यक्त गरे । उनले राईको कथामा ती कुरा पाइने दाबी गरे ।
अनुवादक बलराम अधिकारीले अहिले विश्वमै डायास्पोरिक साहित्यप्रति आकर्षण बढेको बताउँदै पल्टनेको फोटोको अनुवाद अपरिहार्य रहेको धारणा व्यक्त गरे । कवि तथा समालोचक सुरेश हाचेकालीले बदलिँदो सामाजिक सन्दर्भमा लैङ्गिक सम्बन्धलाई नयाँ कोणबाट हेर्दै कथाकार राईले डायास्पोरामा महिलाबाट पीडित पुरुषको भोगाइलाई पनि आफ्नो कथाविन्यासको अङ्ग बनाएको बताए ।
कार्यक्रममा हरि गौतम, टीका चाम्लिङ र कैलाश राईले कथाकार रक्ष राई अब्बल कथाकार रहेको बताए । राईको कथामा अर्कै खालको स्वाद पाइने उनीहरूको विचार थियो । साङ्ग्रिला बुक्सद्वारा प्रकाशित संग्रहभित्र सत्र वटा कथा रहेका छन् ।
खोटाङको बुइँपा पुख्र्यौली थातथलो भएका सेवा निवृत्त पूर्व ब्रिटिस सैन्य राई बेलायतको वेल्समा बसेर साहित्य चिन्तन र सिर्जना कर्ममा समर्पित रहिआएका छन् । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका संस्थापक अध्यक्ष रहेका राई ‘नवचेतनाग्रह’, ‘डायास्पोरा सिद्धान्त’ र युद्धसौन्दर्य चिन्तन’का प्रर्वतक समेत हुन् । उनका यसअघि ‘शहीदकी आमाको लास’, ‘बालुवामा अर्को नेपाल’ (कथासङ्ग्रह), ‘देश दुःखेको छ’, ‘सालिक उभिएर गोर्खाली’ र ‘पोएट इन किलिङ जोन’ (अङ्ग्रेजी कवितासङ्ग्रह), ‘डायास्पोरा सिद्धान्त र समालोचना’ तथा ‘नवचेतनाग्रह’ (सिद्धान्तपरक कृति) प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्