Logo
Logo

बंगलादेशको संसदीय टोली र अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ पुस । नेपाल भ्रमणमा रहेको बंगलादेशको संसदीय टोलीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता भएको छ । बंगलादेश संसदको दलित र अल्पसंख्यक आदीवासीसँग सरोकार राख्ने समितिका सभापति मनोरञ्जन शिल गोपाल नेतृत्वको टोलीले अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित कार्यकक्षमा भेट गरेको हो ।

नेपालको संसदीय अभ्यास तथा दलित, आदिवासी र अल्पसंख्यकको प्रतिनिधित्व तथा अधिकार बारे अध्ययन गर्ने उद्देश्यले सो प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दलित, आदिवासी तथा अल्पसंख्यक बारे नेपालको संविधानले विशेष अधिकार प्रदान गरेको उल्लेख गर्नुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहसम्म सो समुहको प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी गराउनुभयो ।

‘नेपालको संविधानले जात, धर्म, भाषा, पेशा, वर्ग, शारिरिक अवस्थाको आधारमा भेदभाव नगरिने कुरालाई सुनिश्चित गरेको छ,’ उहाँले भन्नुभयो, ‘संघीय संसदले पनि यस सम्बन्धि मौलिक तथा अन्य थुप्रै कानुन निर्माण गरिसकेको छ ।’ अध्यक्ष तिमिल्सिानले नेपाल र बंगलादेशबीच थुप्रै समनाता रहेको बताउँदै यो भ्रमणबाट नेपालको जीवनशैली, विकास, दलित तथा आदिवासीको अवस्था र अधिकार बारे जानकारी लिन आग्रह गर्नुभयो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दुई देश बीच शिक्षा, स्वास्थ्य, व्यापार, उर्जा, कृषि लगायतका क्षेत्रको सहकार्यलाई अझै बढाउनु पर्नेमा जोड दिनुभयो । ‘हामीबीच अन्तर्राष्ट्रिय रुपमा पनि थुप्रै क्षेत्रमा समान धारणा रहँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘यो सहकार्य र सम्बन्धलाई जनस्तरसम्म प्रगाढ बनाउँदै जानुपर्छ ।’

उहाँले भ्रमण दलमार्फत नेपाल भ्रमण वर्ष २०२० मा बंगलादेशका नागरिकलाई नेपाल भ्रमण गर्न निम्ता गर्नुभयो । बंगलादेशको प्रतिनिधिमण्डलको तर्फबाट बोल्दै सभापति मनोरञ्जन शिल गोपालले नेपालले दलित र आदिवासीका अधिकार बारे गरेको कानुनी व्यवस्था प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले बंगलादेश सरकार दलित, अल्पसंख्यक तथा पिछडिएका वर्गको अधिकार र जीवनस्तर सुधारका लागि लागिपरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको संविधानमा केन्द्रदेखि स्थानीय तहसम्म सो समुदायका लागि दिएको अधिकारबाट बंगलादेशले सिक्दै कानुनी रुपमै सुधार गर्नेछ ।’

सभापति शिल गोपालले नेपाल र बंगलादेशबीच व्यापार, उर्जा, शिक्षा र पर्यटन क्षेत्रको सहकार्य बढाउनुपर्ने धारणा राख्नुभयो । त्यसैगरी उहाँले नेपालको संसदको तर्फबाट अध्यक्ष तिमिल्सिनालाई बंगलादेश भ्रमणका लागि आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्