Logo
Logo
कला

‘सानोमा गीत सुन्नेवित्तिकै नाचौँ-नाचौँ लाग्थ्यो’



कुसल नृत्यांगना हुन् फरिता खड्का । नृत्य कलामा पारंगत भएकै कारण फरिता म्युजिक भिडियोमा जम्दै आएकी छन् । उदयपुरकी फरिता मोडलिङसँगै कोरियोग्राफी पनि गर्छिन् । ‘लुगा छोटो भयो’ बोलको गीतमा अभियन गरेपछि मोडलिङ करिअर सुरु गरेकी २३ वर्षीया फरिता भन्छिन्, ‘म संघर्षरत कलाकार हुँ । अझै धेरै मिहिनेत गर्नु बाँकी छ ।’

बागबजारस्थित पद्मकन्या क्याम्पसबाट नृत्यमा स्नाकोत्तर गरेकी फरिता सानैदेखि नृत्य गर्न रुचाउँथिन् । ‘सानोमा गीत बजेको सुन्नैवित्तिकै नाचौँ–नाचौँ लाग्थ्यो’ फरिता भन्छिन्, ‘त्यही इच्छा र रुची पूरा गर्न मोडलिङमा लागेकी हुँ ।’ चार वर्षयता मोडलिङ क्षेत्रमा रमाउँदै आएकी फरिताको उद्देश्य भने एक कुसल अभिनेत्री बन्ने हो । ‘मलाई फिल्ममा अभिनय गर्ने इच्छा छ’ उनी भन्छिन्, ‘कुसल अभिनेत्री भनेर चिनिनु मेरो मुख्य उद्देश्य हो ।’ मोडल एवं नृत्यांगना फरिता खड्कासँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?
म्युजिक भिडियोहरुमै व्यस्त छु। मेरो चाँडै तीनवटा नयाँ म्युजिक भिडियो आउँदै छ । जसमा गायक सुरेश लामाको ‘छाती भरी’, प्रमोद खरेलको गीत ‘हे भगवान’ र अर्को ‘जुनलाई सोध’ बोलको गीत भिडियो रहेको छ ।

नृत्यप्रति कसरी आकर्षित हुनुभयो ?
म सानोमा एकदमै चन्चले स्वभावकी थिएँ । डान्स गर्नु भनेपछि हुरुक्कै हुन्थेँ । गीत बजेको सुन्दा नाचौँनाचौँ लाग्थ्यो । त्यसैले डान्स कम्पिटिशनमा पनि भाग लिएँ । डान्सप्रति रुची भएकै कारण कलेजमा पनि नृत्यकै विषय लिएर पढेँ । यसरी नै विस्तारै डान्सलाई प्यासनकै रुपमा लिन थालेकी हुँ ।

त्यो डान्स कम्पिटिशनमा के हुनुभयो ?
मैले बिचैमा छाडेँ । टप थर्टीको बटम-थ्रीसम्म पुगेकी थिएँ । त्यो भनेको राम्रो पोजिसन हो । तर, उक्त डान्स कम्पिटिशनमा पार लाग्ने अवस्था देखिनँ किनकि चलखेल भएको जस्तो लाग्यो । त्यसैले होस्टेल बस्नु छाडेर उदयपुर फर्के । त्यो बेला नछाडेको भए सायद शीर्ष उपाधि जित्न पनि सक्थेँ होला ।

पहिलोपटक काठमाडौं कहिले आउनुभएको थियो ?
‘संगीत स्टार–२०१८’मा कम्पिटिशनको बेला नै आएकी हुँ । तर, त्यसपछि पुनः गाउँ उदयपर फर्केँर नृत्यलाई निरन्तरता दिएँ । मैले उदयपुरको बेलका–९ स्थित सगरमाथा डान्स सेन्टरबाट नृत्य करिअर सुरु गरेकी हुँ । त्यसपछि धरानको गरिमा डान्स सेन्टरमा पनि केही समय डान्स सिकेँ । त्यहीक्रममा अध्ययनको सिलसिलामा विराटनगर पुगेँ । विराटनगरमा ड्रिम्स र न्यू डाइमण्ड डान्स सेन्टरमा नृत्य प्रशिक्षक भएर काम गरेँ ।

मोडलिङ करिअर सुरु गर्नुभएको कति भयो ?
कम्पिटिशन छाडेर उदयपुर गएपछि डान्सलाई निरन्तरता दिँदै आएकी थिएँ । त्यहीक्रममा एउटा भिडियोका लागि अफर आयो । त्यसपछि म्युजिक भिडियोमा काम गर्न भनेर काठमाडौं आएकी थिएँ । त्यतिखेर ‘लुगा छोटो भयो’ गीतमा मोडलिङ गरेकी थिएँ । त्यो मेरो पहिलो म्युजिक भिडियो पनि हो । त्यसपछि काठमाडौंमै बसेर मोडलिङमा करिअर बनाउन संघर्ष गर्न थालेकी हुँ । त्यहीँ बीचमा अभिनय पनि सिकेँ । म कौशी र एक्टर्स थिएटरको विद्यार्थी हुँ ।

मोडलिङबाहेक के गर्नुहुन्छ ?
खाश केही गर्दिनँ । मोडलिङ नै हो । त्यसबाहेक अध्ययन हो । हालैमात्र पीके क्याम्पसबाट नृत्यमा स्नाकोत्तर गरेँ । म नृत्य हुँदै मोडलिङ लागेकी हुँ । त्यसैले मोडलिङबाहेक अरु भनेको स्टेज कार्यक्रमहरु नै हो ।

फिल्ममा अभिनय गर्ने अवसर पाउनुभएको छैन ?
अहिलेसम्म फिल्ममा काम गरेको छैन । अवसर नपाएर पनि होइन । अफरहरु त आइरहेको छ । तर, फिक्स गरेकी छैन । अहिले पनि केही फिल्मका लागि कुरा भइरहेको छ । चाहेजस्तो भयो भने चाँडै फिल्ममा पनि काम गर्नेछु ।

तपाइँ फेसन कोरियोग्राफी पनि गर्नुहुन्छ ?
मैले गर्ने भनेको डान्स कोरियोग्राफी हो । फेसन कोरियोग्राफी चाहीँ खाशै गरेकी छैन । विराटनगरमा हुँदा ¥याम्प मोडलिङचाहिँ गरेकी थिएँ । काठमाडौं आएर पनि केही फेसन शोहरुमा ¥याम्प मोडलिङ गरेँ । तर, अहिलेचाहिँ मोडलिङ र नृत्यमात्रै गर्दै आएकी छु ।

ग्ल्यामरस क्षेत्र कस्तो लागिरहेको छ ?
केही तितो र केही मिठो अनुभव भइरहेको छ । अलिअलि रमाइलो पनि लागिरहेको छ किनकि, यो ग्ल्यामरस क्षेत्र हो । त्यससँगै नृत्य मेरो सानैदेखिको रुचि र सौखको विषय हो । आफ्नो मनले चाहेको र रोजेको क्षेत्रमा काम गर्दा रमाइलो लाग्दोरहेछ ।

तपाइँको लक्ष्यचाहिँ के हो ?
कुसल कलाकार बन्ने हो । हुन त सबै कलाकार कुसल हुन्छन् । मचाहिँ सबैको मनमा बस्न सक्ने कलाकार बन्न चाहन्छु । अहिले गरिरहेको मिहिनेत त्यसैका लागि हो ।

हालसम्म कति म्युजिक भिडियो गर्नुभयो ?
दुई दर्जनभन्दा बढी भयो । मैले निरन्तर मोडलिङ गर्न धेरै भएको छैन । चार वर्ष त पूरा हुँदैछ । त्यसबीचमा पनि मैले नृत्य प्रशिक्षकको रुपमा काम गरेँ । आफैँले पनि ललितपुरको सातदोबाटोमा डान्स सेन्टर खोलेकी थिएँ । तर, त्यसबेला कोरोना भाइरसको महामारीका कारण लकडाउन भयो । त्यसपछि बन्द गरेँ ।

नृत्यमा करिअर बनाउन सम्भव छ ?
नृत्यमा मात्र होइन मिहिनेत, संघर्ष र धैर्य गर्न सक्यो भने हरेक क्षेत्रमा करिअर बनाउन सम्भव छ । मैले सानैदेखि नृत्यमा करिअर बनाउने सपना देखेकी थिएँ । सपना पूरा गर्न अहिले मिहिनत गर्दैछु ।

प्रशंग बदलौँ, प्रेम प्रस्ताव कतिको आउँछ ?
अवश्य पनि आउँछ । म उहाँहरुलाई सम्मान पनि गर्छु । तर, यो मेरो करिअर बनाउने समय हो । त्यसैले कसैको प्रेम स्वीकारेकी छैन ।

अहिलेसम्म सिंगल हो ?
सिंगल नै हो । तर, यदि चाहेजस्तो र खोजेजस्तो आयो भने अफेयर्स होइन, सीधै बिहे गर्छु । तर, त्यसमा मेरो घरपरिवारको पनि स्विकारोक्ति हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्