Logo
Logo

सिन्धुलीको विकासका लागि काठमाडौंमा सम्मेलन, विभिन्न ८ विधामा कार्यपत्र प्रस्तुत


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । पूर्वमन्त्री हरिबोल गजुरेलले सिन्धुली जिल्लाको समग्र विकासमा राजनीतिक दल, सरकार र स्वयंसेवी संस्थाहरु एकै ठाउँमा आउनुपर्ने बताएका छन् । समृद्ध सिन्धुली अभियानले राजधानीमा आयोजना गरेको सिन्धुली परिकल्पना २०३० (सिन्धुली सम्मेलन) मा नेकपा माओवानीका स्थायी समिति सदस्यसमेत रहेका नेता गजुरेलले भने, पार्टीका नेताहरुबीच विकासका बारे छलफलै हुँदैन । कहाँ कसलाई नियुक्ति गर्ने भन्नेमा मात्रै सबै छलफल गर्छन् । त्यसलाई तोड्नु पर्छ ।

प्रदेश सभा सदस्य विजुला बर्माले सांसदले नियम, कानुन र ऐन बनाउने जिम्मेवारी भए पनि विकासको चिड्को बोकेर मन्त्रालय र योजना आयोग धाउने काम गर्नु परेको गुनासो गरिन् । कार्यक्रममा राष्ट्रिय योजना आयोग सदस्य डा. रामकुमार फुयाल, पत्रकार महासंघका पूर्वसभापति बरिष्ठ पत्रकार डा.सुरेश आचार्यलगायतले सिन्धुलीको विकासमा अवधारणा निर्माण कार्यमा समृद्ध सिन्धुली अभियानले थालेको गतिविधिको प्रसंसा गरे ।

कार्यक्रममा सिन्धुलीको समग्र विकासका लागि धीरप्रसाद भण्डारीले कृषि, आशिष गजुरेल पूर्वाधार, लीलाविक्रम थापाले स्वास्थ्य, डा.दुर्गाप्रसाद दाहालले शिक्षा, जनार्दन बराल, माया थापाले दीगो विकास, दीपक श्रेष्ठले पर्यटन र सुमन थापाले लगानीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा अभियानका अध्यक्ष लीलानाथ घिमिरेले प्रस्तुत भएका कार्यपत्रलाई एकिकृत दस्तावेजको रुप दिएर सिन्धुलीका ९ वटै स्थानीय तहसँग सहकार्य गरी विकास निर्माणका काम अगाडि बढाउने बताए ।

सिन्धुली सम्मेलनमा शिक्षाविद गोविन्द गजुरेल, समाजबादी पार्र्टीका महासचिव गङ्गानारायण श्रेष्ठ, नेकपा नेता प्रकाश श्रेष्ठ, हिरा लामालगायत पर्यटन व्यवसायी, उद्यमी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन हरिकृष्ण श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्