Logo
Logo

भ्रमण वर्षको उत्साह र चुनौती


- दृष्टि न्युज/संवाददाता


नेपाल भ्रमण वर्ष २०२० को बुधबार दशरथ रंगशालामा भव्य उद्घाटन गर्ने तयारी हुँदैछ । २० लाख पर्यटक ल्याउने उदेश्यसहित हुन लागेको यो कार्यक्रम सफल बनाउनु सबैको दायित्व हो , किनकी यससँग देशकै भविष्य र नेपाल र नेपालीको प्रतिष्ठा गाँसिएको छ ।

नेपाल पहिलेदेखि नै पर्यटकीय गन्तब्यका रुपमा चिनिदै आएको छ । त्यसकारण विगतमा पनि नेपाल भ्रमण वर्षका कार्यक्रम भएका थिए । तर, यसपटकको कार्यक्रम विशेष छ । किनकि, देशमा राजनीतिक स्थायित्वपछि यो कार्यक्रम हुन लागेको छ । जसकारण यसले पर्यटक व्यवसायी मात्र होइन, सबै नेपालीलाई उत्साह दिएको छ ।

तर, यसमा जति उत्साह छ त्यो भन्दा धेरै चुनौती छ । एक मात्र अन्र्तराष्ट्रिय विमानस्थल भएको देश हो नेपाल । त्यही एउटा विमानस्थललाई पनि हामीले व्यवस्थित बनाउन सकेका छैंनौं । भिसाका लागि घन्टौं लाइन बस्नुपर्ने, लगेज प्राप्त गर्न समस्या हुने र फोहोरका कारण नेपालको विमानस्थल विश्वमै बदनाम छ । पर्यटकलाई विमानस्थलमै गलत इम्प्रेसन दियो भने उनीहरुले नेपाललाई कसरी लेलान् ? विमानस्थलमा विगतमा भन्दा केही सुधार त भएको छ तर, अपेक्षाअनुरुप काम हुन सकेको छैन ।

लक्ष्यअनुसार पर्यटक भित्राउन पूर्वाधार र प्रचारमा नै मुख्य आधार हुन् । नेपालमा धेरै जसो पर्यटकहरु यहाँका पहाड र हिमालसँग रम्न आउने गर्दछ । पूर्वाधारको क्षेत्रमा पनि धेरै कमजोरी छ । पहाडी गन्तव्यका सडकहरु जोखिमपूर्ण छन् । पर्यटकीय गन्तब्यहरुमा आधारभूत सेवा÷सुविधा पुग्न सकेका छैनन् । स्थानीय तहहरुसमेत यसमा केन्द्रीत हुनुपर्ने अवस्था छ । पूर्वाधार र राम्रो सेवा हुने हो भने पर्यटक खोज्न हामी टाढा जानै पर्देन, दुई छिमेकी देशका पर्यटकले नै २० लाखको लक्ष्य पुरा हुन सक्छ ।

धेरै विदेशी नेपाल आउने अर्काे कारण भनेको नेपालमा हरेक कुरा सस्तो छ । त्यसकारण कम खर्च गर्ने पर्यटकहरु नेपालमा धेरै आउने गरेका छन् । तर, कतिपयले पर्यटकलाई ठगी गर्ने प्रवृत्ति पनि बढेको छ । यस्ता गतिविधि नियन्त्रणका लागि पनि संयन्त्रको जरुरी छ ।

राज्यका निकायबाट नै भ्रमण वर्षलाई सफल बनाउन मेहनत गर्नुपर्ने हुन्छ । देशका ब्रान्ड एम्बेसडर भनेका नेपाली राजदुतहरु हुन् । जुन देशबाट नेपालमा धेरै पर्यटक आउँछन्, त्यहाँ नेपालको दूतावास छन् । राजदूतहरुले देशका लागि केही गरेर देखाउने बेला भनेको यही हो । ती देशका समेत सहयोग मागेर उनीहरुले सक्दो प्रचार गर्नुपर्छ । परराष्ट्र मन्त्रालयले राजदूतहरुलाई पर्याप्त स्रोत साधन दिएर यो वर्ष खटाउनु जरुरी छ ।

एयरलाइन्स कम्पनीहरुको हकमा विदेशी नागरिकको हवाई शुल्क उच्च राखिएको छ । जुन एकदमै गलत छ । एयरलाइन्सको यो गलत धन्दा सरकारले रोक्नै पर्छ । यसले पर्यटकहरुमा गलत सन्देश गएको छ । नेपालको आन्तरिक उडानमा पर्यटकहरुले ठगिनुपरेको छ ।

देशलाई प्रकृतिले त उपहार दिएको छ नै अब, देश बनाउन जनताले पनि एकपटक मेहनत गर्नुपर्ने बेला आएको छ । नेपाल घुम्न आउने पर्यटकलाई सर्वसाधरणले अतिथि देवभवःकै मर्मअनुसार व्यवहार गर्न सके त्यो नै आगमी वर्ष पर्यटन बढाउने सबैभन्दा ठूलो माध्यम हुने छ । आतिथ्यताकै कारण एकपटक आएका पर्यटक अर्काे वर्ष पनि आउने सम्भावना हुन्छ र उनीहरुले नेपालको बारेमा आफ्नो देशमा गएर प्रचार गर्छन् । पर्यटक संख्या बढाउने सबैभन्दा प्रभावकारी शैली यही नै हो ।

पर्यटन विकासको यस्तो आधार हो जसबाट थोरै लगानीबाटै पनि धेरै लाभ लिन सकिन्छ । अन्य क्षेत्रमा लगानी गरेर देश विकास बाटोमा जान धेरै वर्ष लाग्न सक्छ, तर पर्यटनबाट समृद्धिको लक्ष्य छिटो प्राप्त हुन्छ । पूर्वाधारको विकास, पर्यटकहरुलाई उत्कृष्ट सेवा र प्रभावकारी प्रचार नै पर्यटक वर्षलाई सफल बनाउने आधार हुन् । त्यसकारण सरकार मात्र होइन नागरिकको पनि यसमा उत्तिकै दायित्व छ । पर्यटन वर्ष सफल हुनु भनेको नेपालमा २० लाख पर्यटक आउनु मात्र होइन, सुखी नेपाली, समृद्ध नेपालको ढोका खोल्ने ठूलो अवसर पनि हो ।

प्रतिक्रिया दिनुहोस्