
काठमाडौं । महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले अनुसन्धान र अभियोजनकर्ताबीच एकापसमा अझ बढी सहयोग र समन्वय भइराखे मात्रै राम्रो परिणाम आउने बताएका छन् ।
आज काठमाडौंमा ‘कसुरको अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू’ विषयक एकदिवसीय कार्यशाला गोष्ठीमा उनले न्याय प्रणालीमा अनुसन्धान र अभियोजनलाई त्रुटिरहित र प्रभावकारी बनाउनका लागि दुवै निकाय एकजुट र क्रियाशील भएर कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।
महान्यायाधिवक्ता डा दिनमणि पोखरेल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित सिआइडी पत्रिकाको संयुक्त रूपमा विमोचन गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले फौजदारी न्याय प्रणालीको महत्त्वपूर्ण स्तम्भका रूपमा रहेको अभियोजनकर्ता सरकारी वकिलको कार्यालय र अनुसन्धानकर्ता नेपाल प्रहरी बीचको व्यावसायिक र समन्वयात्मक सम्बन्धले न्याय प्रणालीलाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने चर्चा गरे ।
गोष्ठीमा नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालले कसुर अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू, अधिवक्ता सुवास आचार्यले प्रतिरक्षा वकिलको दृष्टिकोणबाट हाल भइरहेको कसुरको अनुसन्धानमा गरिनुपर्ने सुधारका पक्षहरू र सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले कसुर अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू विषयमा प्रदेशगत प्रस्तुतीकरण गरेका थिए ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित उक्त गोष्ठीमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालय कानुन महाशाखाका सहसचिव, सहन्यायाधिवक्तहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, कानुन व्यवसायी अधिवक्ताहरू, उप–न्यायाधिवक्तालगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।














