Logo
Logo

पर्यटन बोर्डका जोशीमाथि अख्तियारको छानबिन


- दृष्टि न्युज/संवाददाता


भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत(सीईओ) बिहीन भएको छ । बोर्डका सीईओ दीपकराज जोशीको पदावधि सकिएको छ । बरु जोशीको पदावधि सकिसकेपछि बोर्डको सीईओ छनोट प्रक्रिया चलिरहेको छ । बोर्डको सीईओका लागि १७ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमध्ये हालका सीईओ दीपकराज जोशी पनि छन् । आवेदन दिने १० जना बोर्डकै अधिकारी नै छन् । बोर्डका दुई जना वरिष्ठ निर्देशक, पाँच प्रबन्धक, दुई वरिष्ठ अधिकृतले पनि सीईओका लागि आवेदन दिएका छन् । ७ जना बोर्ड बाहिरका छन् । बोर्डका सीईओ जोशीको ९ पुस २०७६ मा चार वर्षे पदावधि पूरा भएपछि सीईओ पद रिक्त भएको हो । सीईओ छनोट उपसमितिले पुस १० सम्मको समय दिएर आवेदन मागेको थियो ।

आवेदन दिनेमध्ये बोर्डका निवर्तमान सीइओ जोशी र मार्केटिङ चिफ नन्दिनी लाहे थापाले बोर्डमा गरेका अनियमितताको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । जोशीको कार्यकाल सकिएपछि नन्दिनी बोर्डको निमित्त सीईओ छिन् ।

जोशीले विदेशी नागरिक माइकल कोबाल्टसँग गरेको कारोबार अहिले अख्तियारको छानविनको विषय बनेको छ । नेपालमा दमकल ल्याउने भन्दै दुई बर्ष पहिला माइकललाई २ करोड रुपैयाँ दिने सहमति भएको थियो । त्यो सहमति अनुसार १ करोड रुपैयाँ पहिला नै भुक्तानी भइसकेको छ । तर अहिलेसम्म दमकल नेपालमा आउनु त परै जाओस् कोबाल्ट नै वेपत्ता भएका छन् । यस विषयमा अख्तियारले चासोका साथ छानबिन गरिरहेको छ । हचुवाका भरमा रकम भुक्तानी दिएको बिषयमा जोशीलगायतका बोर्डका अधिकारीसँग अख्तियारले २ पटक बयान लिइसकेको छ । कोबाल्ट बोर्डको सम्पर्कमा समेत आएका छैनन् । कोबाल्टलाई पर्यटन बोर्डको सम्पर्कमा ल्याउने र करोड रकम दिलाउन भूमिका खेल्नेमा भने सीईओ जोशीका विश्वासपात्र श्रद्धा श्रेष्ठ हुन् । बोर्डकी म्यानेजर श्रेष्ठ यसअघि सुवास निरौलाको विश्वासपात्र भएर काम गरेकी पात्र हुन् । श्रेष्ठलाई बोर्डमा प्रवेश गराउने पनि निरौला नै हुन् । जोशीको कार्यकालमा पनि श्रेष्ठको रजगज चल्दैआएको छ ।

त्यस्तै, २०१७ मा दुवईमा पर्यटन फेयर गर्नका लागि बोर्डले हलाल समिट नामक ब्यक्तिलाई १८ हजार अमेरिकी डलर भुक्तानी दिएको थियो । तर दुबईमा त्यो कार्यक्रम त हुन सकेन नै, हलाल अहिलेसम्म पनि बोर्डको सम्पर्कमा आएका छैनन् । बोर्डका मार्केटिङका अधिकृत सन्तोष घिमिरेलाई हलाल खोज्न दुवई पठाए पनि अत्तोपत्तो नै नलागेपछि उनी फर्किएका थिए । १८ लाख रुपैयाँ त हलालले खाइदिए नै उनलाई खोज्नका लागि बोर्डको अर्को २ लाख भन्दा बढी खर्च भएको कुरा पनि गुपचुप राखिएको छ । पर्यटन प्रबद्र्धनका नाममा विदेशमा कार्यक्रम गर्ने काम मार्केटिङ विभागको हो । मार्केटिङ विभाग प्रमुख नन्दिनी लाहे थापा हुन् भने म्यानेजर रोहिणी खनाल हुन् । उनले जर्मनीमा पटक पटक कार्यक्रम राख्ने र त्यसको जिम्मा मनाङ घर भएका एनआरएन दिल गुरुङलाई दिने गरेकी छन् । गुरुङले नेपाली खानाको प्रबद्र्धन गर्ने भनेर समोसा र सेलरोटी एकाध जर्मनहरुलाई बोलाई खुवाएर २० औं लाखको बिल पेश गरी भुक्तानी लिंदैआएका छन् । नन्दिनीले दिल गुरुङलाई टीका लगाएको भाइको नाता समेत लाउने गरेकी छन् । गुरुङले कार्यक्रममा लागेभन्दा तीन गुणा बढी रकमको बिल पेश गरी भुक्तानी लिने र त्यसको हिस्सा नन्दिनी, रोहिणीदेखि सीईओसम्मले भागशान्ति गर्दैआएका छन् । पर्यटन प्रबद्र्धन गर्ने भनेर यसरी बोर्डको रकम ब्रम्हलुट भएकाले डेढ महिनाअघि बोर्डका हाकिम आदित्य बरालले राजीनामा दिए । उनीसँगै नन्दिनीले पनि राजीनामा दिएकी थिइन् । तर मार्केटिङका रोहिणी खनालहरुले उनलाई राजीनामा दिनबाट रोकेका थिए । सीइओको प्रतिस्पर्धामा लाहे थापा पनि छिन् ।

प्रतिक्रिया दिनुहोस्