
काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनले सभामुखलाई राजीनामा गराएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेको छ ।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज साँझ ५ बजे सकिनुअघि नै सत्तारुढ गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेश गर्ने तयारी गरेको हो ।
प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको १२, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । केन्द्रको सत्ता गठबन्धन दलहरु काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा मिल्दा ४६ सांसद पुग्छन् ।
सभामुखले राजीनामा दिएको खण्डमा भने दाबी प्रस्तुत गर्न बहुमत ४७ सांसद पुग्छन् । त्यसैको लागि पनि गठबन्धन दलले अन्तिम समयमा सभामुखको राजीनामा गराउने तयारी गरेका हुन् । तर, कसको नेतृत्वमा जाने भन्ने विषयमा गठबन्धनभित्र सहमति हुन सकेको छैन ।
काँग्रेसले तत्कालका लागि उद्धव थापा नै मुख्यमन्त्री बन्ने दावी गरेको छ भने माओवादी केन्द्रले संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई बनाउने तयारी गरेको छ ।
गठबन्धन दल नयाँ सरकार गठनको लागि राप्रपाको साथ पाउने आशामा बसेको थियो । तर, राप्रपाले आफू तत्काल कुनै पनि सरकार गठनमा सहभागी नहुने जवाफ दिएपछि गठबन्धनले उसको साथ पाउन नसक्ने अवस्था आएको छ ।
नेता आङ्बोले आफूहरु बहुमतको दाबीसहित निर्धारित समयभित्रै प्रदेश प्रमुखसमक्ष पुग्ने बताए । उनले भने, ‘राप्रपाका साथीहरुसँग छलफल चलिरहेको छ । निष्कर्ष निस्किएको अवस्था भने छैन । अन्तिम विकल्प भनेको सभामुखको राजीनामा हो । त्यो पनि अन्तिम निष्कर्षमा पुगिसकिएको छैन । तर, अन्तिम समयमा हामी प्रदेश प्रमुखसमक्ष बहुमत संख्या लिएर सरकार गठनको दाबी गर्छौं ।’
उनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन भएपछि मध्यावधिमा जाने डरले पनि धेरै सांसदले विश्वासको मत दिने दाबी गरे ।
सर्वोच्च अदालतले गत ११ गते संवैधानिक प्रक्रियाअनुसार गठन नभएको भन्दै उद्धव थापा नेतृत्वको सरकारलाई २२ दिनमै बर्खास्त गरिदिएको थियो ।














