रामपुर । राष्ट्रिय भूमि आयोग पाल्पाले तेस्रो चरणमा रामपुर नगरपालिकाभित्रका थप ८७ जना अव्यवस्थित जग्गाधनीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ ।
सोमबार आयोगले पुर्जा स्रेस्ता मालपोत कार्यालय रामपुर र नक्सा नापी कार्यालय रामपुरलाई हस्तान्तरण गरेको हो । आयोगले यसअघि पहिलो चरणमा ६२ जनालाई र दोस्रो चरणमा ३ सय ५४ जनालाई पुर्जा वितरण गरेको थियो ।

जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण कार्यक्रममा बोल्दै रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले सबैको साथ र सहयोगले आयोग मार्फत ऐतिहासिक काम सम्पन्न गर्न सफल भएको बताए ।
वर्षौँदेखि बसोबास गर्दै आएपनि लालपूर्जा नभएका अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउन सफल भएको भन्दै उनले खुशी व्यक्त गरे । स्रेस्ता तथा नक्सा मालपोत र नापीमा हस्तान्तरण भइसकेकाले जग्गाको स्रेस्ता कायम अब छिट्टै हुने बताउँदै नगरपालिकाले घरहरूको अभिलेखीकरणको प्रक्रिया पनि अघि बढाउने जानकारी दिए ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका अध्यक्ष मोहनलाल गैरेले ७ सय ८३ घडेरीमध्ये वडा नं. ५, ६ र ७ मा ७ सय २ वटा पुर्जा वितरण सम्पन्न भएको जानकारी दिए ।
बाँकी रहेकामध्ये प्रक्रिया पुरा भएर १२ वटाको राजस्व जम्मा गर्न बाँकी रहेको, ४१ घडेरीको श्रीमान/श्रीमतीको हस्ताक्षर बाँकी भएको, १ वटाको मुचुल्का नभएको, १८ वटाको दोहोरो निवेदन परेको र ९ वटा निवेदनको कार्यविधि अनुसार नमिल्ने भएकाले पछि सारिएको बताए ।
आयोगले ७ सय २ अव्यवस्थित जग्गाधनी पुर्जा वितरणबाट ११ करोड ७७ लाख ५३ हजार ५ सय ५२ राजस्व संकलन गरेको छ । हालसम्म १ सय १४ रोपनी ११ आना १ पैसा क्षेत्रफलको जग्गाको पुर्जा वितरण गरिएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका विज्ञ सदस्य कृष्ण प्रसाद अधिकारीले स्वागत गर्दै सबैको साथ र सहयोगले हालसम्मको उपलब्धि प्राप्त भएको बताए ।
कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेल, रामपुर नगरपालिकाका प्रवक्ता कपिलबहादुर खाँण, नेपाली कांग्रेस रामपुरका नगरसभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मी, नेकपा माओवादी केन्द्र रामपुरका प्रतिनिधि लक्ष्मी ढकाल, एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य तथा रामपुर इन्चार्ज विनोद श्रेष्ठ, राष्ट्रिय जनमोर्चा रामपुरका अध्यक्ष रामप्रसाद गैरे, पत्रकार सीता डोटेललगायतले धारणा राखेका थिए ।
कार्यक्रमको अवसरमा रामपुर नगरपालिकाले जग्गाधनी प्रमाण पूजा वितरणमा आयोगलाई सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान गरेको थियो ।














