
काठमाडौं । एफएमडब्ल्यू छात्रवृत्ति कार्यक्रमको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ डीएम फाउन्डेसन र एफएमडब्ल्यू (पूर्व मिस नेपाल)को सहकार्यमा अंग्रेजी चलचित्र ‘बार्बी’को काठमाडौंमा प्रिमियर गरिएको छ ।
कोभिड–१९ बाट आफ्ना अभिभावक गुमाएका नेपालभरका बालबालिकाहरुको पारिवारिक तथा आर्थिक अवस्था हेरेर अध्ययनमा सहयोग गर्ने उद्देश्यसहित बार्बीको प्रिमियर गरिएको हो । चलचित्र प्रिमियरबाट संकलन भएको रकम कोभिड पीडित बालबालिकालाई एसईईसम्मको अध्ययनका लागि छात्रवृत्तिको रुपमा प्रदान गरिने छ । यस अभियानबाट हालसम्म १३ जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको बताइएको छ ।
प्रिमियरलार्इ डाबर नेपाल, हल्दिराम्स, व्रिज सिमेन्ट, उर्जा ज्वेलर्स, शुभश्री कलेज, वाउ पपकर्न, भेदा सैलुन, माकुसे, भेटायो र इभाश कन्सल्टिङ जस्ता प्रख्यात ब्राण्ड तथा कम्पनीकोहरूले प्रायोजन गरेका थिए ।
कार्यक्रममा उपस्थित आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत डिकेस मल्होत्राले चलचित्र प्रिमियरमा उपस्थित भई टिकट किन्ने दर्शक एवं प्रायोजन, साथ सहयोग गर्ने सबै ब्राण्ड लगायत एफएनडब्ल्यूलाई धन्यवाद दिँदै छात्रवृत्ति कार्यक्रम देशब्यापी गर्नको निम्ति यस्ता खालका परोपकारी कार्यले निकै महत्वपुर्ण भूमिका खेल्ने बताए । उनले बालबालिकालाई उचित शिक्षा दिनुपर्ने भन्दै सबैको साथ र सहयोग तथा सहकार्य आवश्यक रहेको धारणा राखे ।














