Logo
Logo

सदनमा एमालेको प्रश्न- सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीसँग कसले बयान लिन्छ ?


4.6k
Shares


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै बयान लिनुपर्ने भन्दै उच्चस्तरीय छानबिन नबने कसले बयान लिन्छ भनेर प्रश्न गरे ।

उनले भने, ‘‘गृहमन्त्रीजी तपाईंको फिल्ड कमिसार को छ ? फिल्ड कमिसारले तपाईंको आदेश मानेको छैन कि फिल्ड कमिसारको सूचना तपाईंले भेरिफाइ गर्नुभएको छैन ? गृहमन्त्रीसँग कसले बयान लिन्छ, सीर्आबीले लिन्छ, राजस्व अनुसन्धानले लिन्छ ?’

उनले सुन प्रकरणमा तीन तहमा अनुसन्धान नभइ सत्यतथ्य पत्ता नलाग्ने बताए । उनले भने–, ‘अर्थमन्त्रीसँग हाम्रो प्रश्न छ, प्रधानमन्त्री कार्यालयसँग हाम्रो प्रश्न छ, राष्ट्रिय अनुसन्धान विभागसँग हाम्रो प्रश्न छ । यत्रा निकाय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदा यी कहाँ सुतेका थिए यिनीहरुमाथि प्रश्न कसले उठाउँछ ?  सीआईबीले उठायो ? राजस्व अनुसन्धानले उठाउँछ ?  भन्सार विभागले उठायो ? अध्यागमन कहाँ छ ? एयरपोर्ट म्यानेजमेन्ट कहाँ छ ? यी तहमा विषयको छानबिन नगरीकन यो फ्याक्ट फाइन्डिङ हुन सक्दैन ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सुन तस्करी प्रकरणमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भन्दै उसको भनाइ पनि उच्चस्तरीय छानबिन समिति गठनमै भएको बताए । सत्तापक्षका सांसदहरुले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ भनेको भन्दै भट्टराईले संसद्मा ह्वीप नलगाई भोटिङ गर्न माग गरे ।

उनले छानबिन समितिको आवश्यकताबारे सदनमा जाँच गर्न आग्रह गरे । उच्चस्तरीय समिति गठन गर्नको लागि पार्टीले ह्वीप नलगाई भोटिङ गराउन भट्टराईको माग थियो । उनले भने, ‘‘सदनले छानबिन समिति आवश्यक नभएको भन्यो भने एमालेले आन्दोलन फिर्ता लिन्छ ।’

उनले सार्वजनिक लेखा समितिले पनि छानबिन समिति गठन गर्न ध्यानाकर्षण गरिसकेको स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्