Logo
Logo

भारतीयहरूको सुटुक्क नेपाल भ्रमण



काठमाडौं । माओवादी नेताहरू भारतको भ्रमणबाट फर्केलगत्तै नेपालमा भारतीय विदेश मन्त्रालयका दुईजना अधिकारी, हिन्दू परिषद्का एक नेता र भारतीय जनता पार्टीका अध्यक्ष यसैसाता काठमाडौ आएर सुटुक्क भारत फर्केका छन्् । उनीहरू फरक फरक नेपाल आएर दिल्ली फर्केका हुन् । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार विदेश मन्त्रालयका अधिकारी अघिल्लो हप्ता नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ बाट काठमाडौ आएका हुन् ।

विदेश मन्त्रालयका निर्देशक मदनलाल राइगर र भाजपाका अध्यक्ष जगतप्रकाश (जेपी) नाड्डा

स्रोतका अनुसार विदेश मन्त्रालयका निर्देशक मदनलाल राइगर र अधिकृत अश्विन भाष्करण नेपाल आएका थिए । उनीहरू आएको दोस्रो दिन विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महासचिव मिलिन्द पराण्डे एअर इण्डियाको उडान नम्बर एआई २१३ बाट नेपाल आएका थिए ।

त्यसैगरी गत शुक्रबार श्रीमतीसहित नेपाल आएका भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश (जेपी) नाड्डा एक रात बसेर स्वदेश फिर्ता भए । यो विषयमा भारतीय राजदूतावास र नेपाली अधिकारीहरूले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन ।

समाचार स्रोतका अनुसार उनीहरू नेपाल कुन कार्यक्रमको लागि आएका हुन् भन्ने जानकारी छैन । नेपालको राजनीतिक अवस्था निकै तरल भइरहेको बेला विदेश मन्त्रालयका कर्मचारी नेपाल आएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्केर आएपछि नेपालमा हिन्दू परिषद्का नेता र भाजपाका अध्यक्ष आउनुलाई एक प्रकारले अर्थपूर्ण मानिएको छ । उनको पनि नेपालमा कुनै कार्यक्रम रहेको छैन ।

गत असोजमा पनि भारतीय विदेश मन्त्रालयका नेपाल मामिला हेर्ने एक उच्च अधिकारी नेपाल आएका थिए । त्यतिबेला विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने सहसचिव अनुराग श्रीवास्तव काठमाडौं थिए । नेपाल र भारतका संयुक्त परियोजनका बैठकमा सहभागी हुन काठमाडौ आएको बताइएपनि उनी सो बैठकमा सहभागी नभई दिल्ली पुगेका थिए ।

त्यतिबेला उनी दिल्ली जानु र नेपाली सञ्चारकर्मीहरूको टोली पनि दिल्ली पुगेका बेला नेपाल पुग्नुको कारणबारे नेपालमा हुन लागेको आम निर्वाचनको विशेष जानकारी राख्नु बताएका थिए ।

त्यतिबेला सुरक्षा अधिकारीहरूलाई समेत जानकारी नदिइ काठमाडौं आएका श्रीवास्तवलाई भारतीय दूतावासले आफ्नो अतिथि भन्दै दूतावास पु¥याएपछि मात्रै विदेश मन्त्रालयका नेपाल मामिला हेर्ने कर्मचारी खुलेका थिए । अहिले आएका कर्मचारीहरू जुनिएर भएपनि उनीहरू नेपाल आउनुको कुनै पनि प्रयोजन नखुलेका कारण यहाँको सत्तामा कुनै न कुनै गडबढी हुँदै छ कि भन्ने अनुमान लगाइएको छ ।

यहीबीचमा जनता समाजवादी पार्टीले शुक्रबारलाई केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । प्रचण्डले गौर हत्या काण्डको फाइल अघि बढाउने भनेपछि समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सो बैठक डाकेका हुन् ।

भारतीय विदेश मन्त्रालयका कर्मचारी नेपाल आउनु र जसपाको बैठक बस्नुलाई संयोग मात्रै मानिएको भएपनि २०७८ साल पुसमा आएको भारतीय उच्च सुरक्षा टोलीसहित भारतीय विदेश विभागका अधिकारीहरुले काठमाडौको राजनीतिलाई दिल्लीसम्म कनेक्सन गराएका थिए ।

स्रोतका अनुसार भारती सुरक्षा टोली त्यतिबेला पनि नेपाली सुरक्षाकर्मीलाई जानकारी नदिई काठमाडौ आएको थियो । त्यतिबेला भारतीय विदेश मन्त्रालयको बन्दोबस्ती र सुरक्षा हेर्ने टोली काठमाडौं आएको थियो ।

भारतको विदेश मामिला मन्त्रालयको बन्दोबस्ती तथा सम्पत्ति खरिद विभागका सहसचिव आलोक रञ्जन झाको नेतृत्वमा वरिष्ठ आर्किटेक्ट निधि आनन्द र कर्णेल विनय बहलको टोली काठमाडौं आएको थियो । टोली वीरगञ्जस्थित महावाणिज्य दूतावासका लागि जग्गा खरिद र भवन निर्माणको पूर्वतयारीका लागि आएको दाबी गरिएको भए पनि तरल राजनीतिक अवस्थाबारे बुझ्न आएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्