
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिँडीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न आग्रह गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकासका कार्यमा राजनीति गर्न नहुने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमानदार भएर एकजुट हुन जरुरी भएकोसमेत बताएका छन् ।
सरकारले उपयुक्त नीति र कार्य योजनासहित आन्तरिक विद्युत् माग वृद्धि गर्न विद्युतीय सवारी साधनहरू, विद्युतीय चुल्हो आदिको प्रयोगमा प्रोत्साहन गरेको तथा बढी विद्युत् खपत गर्ने उद्योग कलकारखानाको स्थापना र सञ्चालनमा उपयुक्त वातावरण निर्माण गर्न र विद्युतको अधिकतम उपयोगलाई राष्ट्रिय अर्थतन्त्र र समृद्धिको मजबुत आधारका रूपमा आत्मसात् गरी अघि बढ्न सम्बन्धित सबै मन्त्रालय र निकायहरूको आपसी समन्वयमा जोड दिइएको उहाँको भनाइ थियो ।
स्वदेशमा उत्पादित जलविद्युतलाई आन्तरिक माग पूरा गरी अन्तर्देशीय बजारको पहुँच दिलाउन भारत, बङ्गलादेश र चीन सरकारसँग भइरहेका प्रयासहरूबारे जानकारी दिँदै नेपालमा जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकिएको बताए ।
खोलानाला बगिरहने तर त्यसबाट प्रचुर फाइदा लिन नसक्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न योजनाबद्ध रूपमा काम गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अहिले देशभरका खोलानाला तथा नदीहरूमा जलविद्युत आयोजनाहरूको विकासका लागि केही न केही काम भइरहेको जानकारी दिए ।
नेपालमा नदी प्रवाही जलविद्युत आयोजनाहरूको बाहुल्यताले नवीकरणीय, स्वच्छ विद्युतीय ऊर्जाको प्रयोगबाट ग्रिन हाइड्रोजनको उत्पादनमा नेपालले आफूलाई अग्रणी भूमिकामा स्थापित गर्न सक्ने बृहत् अवसर रहेको भन्दै नेपाल विद्युत् प्राधिकरणले यस कार्यमा आफूलाई समेत तयारी अवस्थामा राख्नुपर्ने प्रधानमन्त्रीको सुझाव थियो ।
आउने पिँडीलाई अँध्यारोमा राख्ने कि उज्यालो भविष्य दिएर जाने ? भन्ने गम्भीर प्रश्न अघि सार्दै हाम्रो पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिँडीलाई उज्यालो भविष्य दिन, विकासका कार्यमा राजनीति गर्ने होइन सबै इमानदार भएर एकजुट हुन जरुरी रहेको धारणा राखे ।














