काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोडसेडिङ अन्त्य गर्ने घोषणा गर्दा धेरैले मजाकको विषय बनाएको बताएका छन् । तर, आफ्नो दोस्रो कार्यकालमा दैनिङ १८ घण्टासम्म लोडसेडिङको अवस्थालाई अन्त्य गरेको बताएका हुन् ।
शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘विद्युत् प्राधिकरणको ३८औं वार्षिक उत्सवलाई सम्बोधन गर्न यस रोस्ट्रममा आउँदै गर्दा मैले २०७३ को साउनमा म दोस्रोपटक प्रधानमन्त्री हुँदा देशले बर्सातको समयमा पनि बेहोरिरहेको लोडसेडिङको कहालीलाग्दो अवस्थालाई सम्झिरहेको छु । त्यसबेला बिजुलीको पहुँच भएको ठाउँमा दिनमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । देशका करिब ४० प्रतिशत जनता विद्युतको पुहँचभन्दा बाहिर थिए ।’

प्रधानमन्त्री प्रचण्डले त्यस्तो बेला आफूले ३ महिनाभित्र देशमा लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गरेको स्मरण गर्दै भने, ‘त्यसरी घोषणा गर्दा धेरैले मजाकको विषय बनाएका थिए, कतिले त लोडसेडिङ अन्त्य भयो भने खुल्लामञ्चमै आत्महत्या गर्नेसम्म घोषणा गरेका थिए ।’
प्रधानमन्त्री प्रचण्डले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएपछि १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएको बताए ।
उनले आफूले सरकारको नेतृत्व गर्दा ऊर्जा क्षेत्रको विकासका लागि दूरगामी महत्त्वका निर्णयहरू भएको बताउँदै भने, ‘प्राधिकरणभित्र नीतिगत सुधार, प्राधिकरणको घाटा अपलेखन गरी वित्तीय सुरक्षा प्रदान, प्राधिकरण व्यवस्थापन र संस्थाको नेतृत्व परिवर्तन गरी लोडसेडिङलाई पूर्णरूपमा अन्त्य गर्दै संस्थालाई नाफामा लाने काम भएको कुरा विदितै छ ।’
नेपाल विद्युत प्राधिकरणको संलग्नतामा आगामी दिनमा १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशय तथा १०,८०० मेगावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानी जस्ता ठूला जलविद्युत आयोजनाहरूको निर्माण अघि बढाउने योजना रहेको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले आगामी महिनामा हुने आफ्नो चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुनेसमेत बताए ।
‘हामी अर्को छिमेकी मित्रराष्ट्र चीनसँग पनि चिलिमे–केरुङ २२० के.भी. प्रसारण लाइन निर्माणमार्फत जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेका छौँ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो आगामी महिनामा हुने चीन भ्रमणमा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको छु ।’
साथै, प्रधानमन्त्री प्रचण्डले सरकारले चाँडै हरित हाइड्रोजनसम्बन्धी नीति जारी गर्ने पनि बताए । उनले भने, ‘हरित हाइड्रोजन व्यापारिकरूपले सम्भाव्य हुने अवस्थामा नेपाल हरित ऊर्जाको केन्द्र बन्नेछ । यसबाट सरकारको स्वच्छ र नवीकरणीय ऊर्जाको विकास र खपत गर्दै कार्बन उत्सर्जन घटाउने लक्ष्यमा सहयोग पुग्नेछ ।’














