काठमाडौं । ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका अधिकांश चिनियाँ नागरिकबाट नेपाली नागरिकता फेला परेको छ ।
प्रहरी स्रोतको अनुसार तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको हो । उनीहरूले जिल्ला प्रशाासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको पाइएको छ ।

सुन तस्करी प्रकरणमा अहिलेसम्म ११ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार राति मात्रै काठमाडौंको दुई चिनियाँ नागरिक पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई उनीहरूले फरक फरक स्थानमा राखेर अनुसन्धान गरिरहेको छ।
सरकारले अन्तरदेशीय सङ्गठित अपराधको अनुसन्धान गर्न सीआईबीलाई दिएपनि हालसम्म मुख्य मालिक र सुनको साझेदारबारे पत्ता लाग्न सकेको छैन ।
सीआईबीले प्राविधिक पक्षलाई केन्द्रमा राखेर गरेको अनुसन्धानको क्रममा बुधबार मात्रै काठमाडौं उपत्यकाबाट चार जना चिनियाँ नागरिक पक्राउ परेका थिए भने त्यसअघि तीन जना पक्राउ परेका थिए ।
बुधबार पक्राउ पर्नेहरुमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई छन् । उनीहरु पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २९ पुगेको हो । यसअघि २७ जनालाई सीआईबी र राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो ।
चिनियाँ नागरिकहरु मात्रै पक्राउ पर्दा सुन कहाँ जान लागेको हो, नेपालबाट कता जान्छ भन्ने स्पष्ट छैन । यद्यपि प्रहरीले सो सुन भारत नै जान्छ भन्ने अनुमानका साथ भारतीय प्रहरीसँग समन्वय गर्दै अनुसन्धान गरेको छ।














