काठमाडौं । केकपा एकीकृत समाजवादीले ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई अनुसन्धानमा लागि बोलाउनु भन्ने सर्वोच्च अदालतको आदेशबारे जानकारी नभएको जनाएको छ । शनिबार साँझ पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्न सर्वोच्च अदालतले दिएको आदेश जानकारी नभएको बताएका हुन् ।

केन्द्रीय सचिवालय बैठकपछि प्रवक्ता खतिवडाले भने, ‘पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्नू भनेर सर्वोच्चले तोकेको थाहा छैन । छानबिन गर्न आवश्यक पर्ने कसैलाई पनि नछाड्नू भन्ने आशयको आदेश दिएजस्तो लाग्छ ।’
छानबिनको जिम्मा पाएको निकायले आवश्यक पर्नेहरूलाई मात्र बोलाउने उनले बताए । खतिवडाले भने, ‘आवश्यक पर्नेहरुलाई उसले बोलाउँछ, नपर्नेलाई बोलाउँदैन । यो छानबिन गर्ने अधिकारीको जानकारीको विषय हो ।’
ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले गत साउन २१ आदेश जारी गरेको थियो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन निर्णय गर्ने तत्कालीन मन्त्रिपरिषद्का सदस्यलाई पनि छानविनका लागि बोलाउन सर्वोच्चले आदेश दिएको थियो ।














