Logo
Logo

रौतहटको चिनी मिललाई पुनः सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी


4.6k
Shares

रौतहट । रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी नेताहरूले दिएका छन् । उद्योग परिसरमा शनिवार उखु उत्पादक संघ रौतहटले आयोजना गरेको किसान आम सभामा नेताहरुले उद्योग सञ्चालनमा आफूहरूले सहयोग गर्न तयार रहेको बताउँदै उद्योग सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

रौतहट जिल्ला किसान आन्दोलनसंग जोडिएको भन्दै आम जनता पार्टीका नेता विजय यादव निर्विजले चीनी मिललाई बचाऊन आवश्यक रहेको बताए । यसै गरी संघीय सांसद देवप्रसाद तिमल्सिनाले उद्योग सञ्चालनको लागि संसदमा आफूले आवाज उठाएको तथा उद्योगपतिसित पनि समन्वयका लागि आग्रह गरेको बताउँदै किसानको हकहितको लागि उद्योग सञ्चालन गर्नु अपरिहार्य रहेको बताए ।

संघीय सांसद किरण साहले सडक र सदन दुवैमा आफू सङ्घर्ष गर्न तयार रहेको तर उद्योग सञ्चालन गराएर मात्र आफूले विश्राम लिने बताए । त्यस्तै प्रदेश सांसद जितेन्द्र यादवले किसानको समृद्धि र भविष्यसित उद्योग सञ्चालनको सवाल गाँसिएकोले उद्योग सञ्चालन गराउन किसानको सङ्घर्षमा आफूले हरेक किसिमले साथ दिन तयार रहेको बताए ।

किसान सभालाई गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवार, बौधिमाई नगर प्रमुख प्रदीप कुमार यादव, वृन्दावन नगर प्रमुख विनोद पटेल, पूर्व राज्यमन्त्री डा. वंशीधर मिश्र, पूर्व राज्यमन्त्री योगेन्द्र यादव, पूर्व सांसद रामकुमार भट्टराई, राम सिनेही यादव, बृजकिशोर यादवसहित दर्जनौँ नेताहरूले सम्बोधन गर्दै उद्योग सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उद्योग व्यवस्थापनले २०७७ साउन ११ गते सूचना प्रकाशित गरी उद्योग स्थायी रूपले बन्द गरिएको जनाएको थियो । यसै गरी व्यवस्थापन पक्षले नेपाल बैंक लिमिटेडसित मिलेर उद्योगका सम्पूर्ण मेसिनरी पाट पुर्जालाई टेन्डर प्रक्रियामार्फत गत साउन ४ गते बिक्री गरिसकेको छ ।

पाँच वर्षभन्दा बढी समयदेखि पूर्णतया ठप्प रहेको उद्योगको सञ्चालनको लागि उखु उत्पादक संघले निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ । संघका अध्यक्ष अशोक प्रसाद यादवले उद्योगको पाट पुर्जा जसले किनेको भए पनि लैजान नदिने तथा उद्योग सञ्चालनको वातावरण बनाउन आफूहरूले जुनसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन्। निरन्तर घाटामा गएर धराशायी भएपछि व्यवस्थापनले उद्योगलाई बन्द गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्