
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सदनमा राष्ट्रिय मान्यताप्राप्त दलको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रतिनिधिहरु पुगेका छन् । तर गत साउन १० गतेदेखि अवरुद्ध संसद् खुलाउन डाकिएको बैठकमा आफू नगएर ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई पठाएका हुन् ।
यो बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले दलका उपनेता नेम्वाङ र पमुख सचेतक गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपप्रधान तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
गत साउन १० गतेदेखिको संसद्को अवरोध खुलाउन दलहरु पटकपटक छलफलमा बस्ने गरेका थिए । तर हालसम्म कुनै निकास निस्किने वातावरण बनेको छैन ।
साउन ३ गते बरामद भएको साढे ६० केजी सुन प्रकरणलाई लिएर एमालेले उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै आइरहेको छ । यता सत्ता पक्ष त्यसमा सहमत नहुँदा सदनको अवरोध हट्न सकेको छैन ।














