
काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने भएका छन् । साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले २० दिनमा विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ । उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।
विश्वासको मत लिन थापाले शुक्रबार कोसी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर, सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल देखिएको छ ।
सभामुखले राजीनामा दिएसँगै प्रदेशसभा सञ्चालन गर्ने जिम्मेवारी उपसभामुख सिर्जना दनुवारको काँधमा आएको छ । तर, मुख्यमन्त्रीले विश्वासको मत लिने दिन आफैले तोकेको मितिमा उपसभामुख दनुवार अचानक बिरामी हुने सम्भावना बढेको छ । यसको छनक एमालेले दिइसकेको छ ।














