काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशसभाका उपसभामुख सृजना दनुवारले बैठक सञ्चालन गर्न बहानाबाजी गरेको आरोप लगाएका छन् ।

सोमबार प्रदेशसभा बैठकमा बोल्दै पूर्वमुख्यमन्त्री राईले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत लिन उपसभामुख दनुवारले बाधा पुर्याएको बताए । सोमबार उपसभामुख दनुवार बिदामा बसेपछि अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सरीले बैठक सञ्चालन गरेका छन् ।
पूर्वमुख्यमन्त्री राईले भने, ‘निर्वाचित उपसभामुखको दुख विमारका बारेमा भोलि मेडिकल रिपोर्ट, अस्पतालले स्पष्ट पार्ला । तर कतै यो बिमारी नाटक र बहानाबाजी त होइन भन्ने आशंका गर्न सकिन्छ ।’
मुख्यमन्त्रीले प्रदेशसभामा आफ्नो अनुकुल समयमा विश्वासको मत लिन सक्नेमा उपसभामुखले एक दिन पछाडि सारिदिएको राईले बताए ।
उनले भने, ‘सदनको बहुमतमा छु भन्ने देखाउनका लागि संवैधानिक बाध्यता नहुँदा पनि मुुख्यमन्त्रीले विश्वासको मत लिन सक्नुहुन्छ । त्यसको व्यवस्थापन गरिदिने दायित्व सभामुख र उपसभामुखको हो, त्यसैले मुख्यमन्त्रीले तोकेको दिन, तोकेको समयमा विश्वासको मत लिने प्रबन्ध गरिदिनुपर्ने थियो ।’
उनले मध्यावधि टार्न मुख्यमन्त्री थापालाई विश्वासको मत दिने बताए । राईले उद्धव थापाको नाम ४७ जनाले टाँसिसकेको जिकिर गरे ।
उनले भने, ‘अहिलेको अवस्थामा व्यवस्थासमेत संकटमा आइसकेको छ । ठूला दलहरूको भूमिकामा प्रश्न उठिसकेको बेलामा सही ढंगबाट हामीहरू चल्न सकेनौं ।’














