Logo
Logo

कोशीमा सभाध्यक्षले मतदान गर्नु घोर असंवैधानिक- टीकाराम भट्टराई


14.1k
Shares

फाइल फोटो

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाध्यक्ष ईस्राईल मन्सुरीले पक्षमा मतदान गरेर घोर असंवैधानिक कदम चालेको संविधानविद् टीकाराम भट्टराईले टिप्पणी गरेका छन् ।

आज मुख्यमन्त्री थापाले विश्वासको मत लिएका थिए । उपसभामुख सिर्जन दनुवार बिरामी बिदा लिएर बसेपछि सभाध्यक्षको जिम्मेवारी पाएका मन्सुरीले प्रदेशसभा सदस्यकै हैसियतमा मतदान गर्दै ४७ मत पुर्‍याएर विश्वासको मत दिलाएपछि भट्टराईले यस्तो टिप्पणी गरेका  हुन् ।

संविधानविद् भट्टराईले भने– ‘सभामुखकै हैसियतमा सभा सञ्चालन गरेका व्यक्तिले मत बराबर भएको अवस्थामा निर्णायक मतदान गर्न मात्र पाउँछन् । तर, कोशी प्रदेशमा मुख्यमन्त्रीको पक्षमा बहुमत अर्थात् ४७ मत पुर्‍याउन सभाध्यक्षले मतदान गरेका छन् । यो संवैधानिक व्यवस्था विपरीत भएको छ । यो घोर असंवैधानिक कदम हो ।’

बाबुराम गौतमले सभामुखबाट राजीनामा दिइसकेको अवस्थामा उपसभामुख दनुवारले सभा सञ्चालन गरेको भए मुख्यमन्त्री थापाले सहजै विश्वासको मत पाउने अवस्था थियो । तर, अन्तिम अवस्थामा बिरामी भएको भन्दै उपसभामुखले बिदा लिँदा सत्ता गठबन्धन अप्ठ्यारोमा परेको थियो ।

उपसभामुख बिदामा बसेपछि कांग्रेसका मन्सुरीले ज्येष्ठ सदस्यको रूपमा सभा सञ्चालन गरेका थिए । सभाध्यक्षको रूपमा आफैले सभा सञ्चालन गरेका मन्सुरीले मतदान गरेका कारण थापाले पाएको विश्वासको मतमा संवैधानिक प्रश्न उब्जेको छ ।

सँगै, मुख्यमन्त्री थापाको विश्वासको मतको विषय न्यायालय पुग्ने निश्चित भएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अब यो विषय अदालतले टुंगो लगाउने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्