Logo
Logo

कम्युनिष्ट आदर्शहरूको अपमान गर्ने निर्णय



हरेक मानिसले बोल्नु र कुनै निर्णय गर्नुपर्दा दशपटक सोच्नुपर्छ । मानिसको प्रभाव बोलीबाटै पर्छ । को मानिस कस्तो हो भन्ने कुरा उसको बोलीबाटै व्यवहार थाहा हुन्छ ।

सामान्य मानिसले भन्दा राजनीतिमा लागेका अथवा सार्वजनिक पदमा रहेका मानिसले आफ्नो बोलीमा लगाम लगाउन सकेनन् भने बोल्दाबोल्दै धोती खुस्केको पनि थाहा पाउँदैनन् ।

बोलीको प्रभाव तिक्ष्ण हुन्छ । राम्रो बोलीलाई वाणी पनि भनिन्छ । कतिपय नेता वा विद्धानले बोलेका शब्द महान् वाणीका रूपमा चीरकालसम्म रहन्छ । उदाहरणका लागि जननेता मदन भण्डारीले ‘एउटा माघले जाडो जाँदैन’ भने ।

राजनीतिमा यसको गहिरो अर्थ छ । राजनीतिमा लाग्नेहरूले धैर्यता गर्नुपर्छ, हतारोले कहीँ पनि पुगिन्न भन्ने यसको अर्थ हो । जननेता मदन भण्डारीले यो शब्द कुन प्रसंगमा उठाएका थिए भन्ने कुराले त्यसको खास अर्थ राख्छ ।

त्यसैगरी हरेक निर्णयले हाम्रो जीवनमा परिवर्तन ल्याएको हुन्छ । राम्रो निर्णयले सकारात्मक परिणाम दिन्छ भने खराब निर्णयले आफूलाई मात्र होइन, देश र समाजलाई समेत नकारात्मक बाटोमा डोहोर्याउँछ ।

ओलीको फोटो झुन्ड्याउने रहर गर्नेले यति कुरा त बुझ्नुपर्छ । ओलीको फोटो पुष्पलाल, मनमोहन, मदन भण्डारीसँगै झुन्ड्याउनु भनेको उनीहरूप्रतिको अपमान हो ।

अहिले सामाजिक सञ्जालको जमाना छ । सामाजिक सञ्जालमा अभिव्यक्त हुने शब्द र विचार क्षणभरमै लाखौंको बीचमा पुग्छ र त्यसले सकारात्मक नकारात्मक प्रतिक्रिया जन्माउँछ । सकारात्मक प्रतिक्रियाले सभ्य समाज निर्माण गर्न मद्दत पुर्याउँछ भने, नकारात्मक प्रतिक्रियाले सभ्य समाजको पनि मथिंगल खल्बल्याउने काम गर्छ । त्यसैले कुनै पनि निर्णय लिनु अगाडि त्यसको प्रभावकारिताको विषयमा दशपटक सोच्नु पर्छ । किनभने, आफूले गरेको निर्णयले कसैलाई हानी नोक्सानी पुर्याउनु हुँदैन ।

अहिले एमालेले गरेको एउटा निर्णयले सबैको मथिंगल खल्बल्याएको छ । सामाजिक सञ्जालभरि त्यो निर्णयको विरूद्ध आक्रोश पोखिएको छ । निर्णय ठूलो कुरा थिएन, अबदेखि एमालेको सार्वजनिक सभाहरूमा पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीसँगै केपी शर्मा ओलीको पनि फोटो झुन्ड्याउने भन्ने निर्णय एमालेले गरेको रहेछ । यसमा कसैले टाउको दुःखाउनुपर्ने कारण थिएन । तर, यो निर्णयले एमालेबाहेकको पनि मथिंगल खल्बल्याउने काम गर्यो । धेरैले यो कुरालाई पचाउन सकेका छैनन् ।

अक्सर कम्युनिष्ट पार्टीको कार्यालय र सार्वजनिक सभाहरूमा माक्र्स, एंगेल्स, लेनिन र माओको तस्बिर लहरै भित्तामा झुन्ड्याएको देख्छौं । यसको अर्थ कम्युनिष्ट पार्टीको सिद्धान्त, विचार, विधि र पद्धतिप्रति प्रतिबद्ध छौं भन्ने नै हो । कम्युनिष्ट पार्टीको सदस्यता लिँदा पनि यिनै महान् नेताकको सामु शपथ खाने परम्परा छ ।

एमालेको हरेक कार्यालय र सभाहरूमा पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर राखेको देख्छौं । यसको अर्थ नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याउने नेताहरूको सम्मान गर्नु नै हो ।

पुष्पलालले पनि माक्र्स, एंगेल्स र लेनिनको फोटोलाई साक्षी राखेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरे । मदन भण्डारीले पनि माक्र्स, एंगेल्स, लेनिन र माओको फोटो राखेरै महासचिवको शपथ खाए ।

मनमोहन अधिकारी नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मात्र होइनन्, कम्युनिष्ट आन्दोलनका शिखर पुरूष नै हुन् । त्यसैले उनीहरू दिवंगत भइसकेपछि उनीहरूको सम्झनामा एमालेले पार्टी कार्यालय र सभाहरूमा दिवंगत नेताहरूको फोटो झुन्ड्याउने परम्परा सुरू गरेको हो । पुष्पलाल, मनमोहन र मदन भण्डारी बाँचुन्जेल उनीहरूले आफ्नो फोटो पार्टी कार्यालयमा झुन्ड्याउने गरेका थिएनन् ।

यसर्थ, पनि केपी ओलीको फोटो झुन्ड्याउने कुराको सामाजिक सञ्जालमा विरोध भएको हो । ओलीको तुलना न त पुष्पलालसँग गर्न मिल्छ, न त मदन भण्डारीसँगै । पुष्पलाल नेकपा संस्थापक महासचिव हुन् भने मदन भण्डारी जबजका प्रवर्तक हुन् । त्यसैगरी मनमोहन अधिकारी इमान्दार, त्यागी कम्युनिष्ट नेता हुन् । जसलाई नेपालका कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताहरूले मात्र होइन, अलग विचार राख्नेहरूले पनि सम्मान गर्छन् । यी दिवंगत नेताहरूको तुलना ओलीसँग हुनै सक्दैन ।

त्यसमाथि ओली जिउँदै छन् । दुई–दुईपटकक संसद् भंग गरेर प्रतिगामी कदम चाल्ने ओलीको कम्युनिष्ट आन्दोलनमा १४ वर्ष जेल बस्नुबाहेक अरू योगदान देखिँदैन । यो निर्णय जसको बुद्धिले गरेको भए पनि यसले जिउँदा ओलीको खिल्ली उडाउने काम गरेको छ । फोटो झुन्ड्याउने रहर गर्नेले यति कुरा त बुझ्नुपर्छ । ओलीको फोटो पुष्पलाल, मनमोहन, मदन भण्डारीसँगै झुन्ड्याउनु भनेको दिवंगत नेताहरूप्रतिको अपमान हो ।

प्रतिक्रिया दिनुहोस्