Logo
Logo

तत्काल वाम एकता असम्भव, अहिलेलाई मोर्चावन्दी मात्रै


माधवकुमार नेपाल



वर्तमान नेपाली समाजमा आमूल परिवर्तन गरेर समाजवादी क्रान्ति सम्पन्न गर्नको लागि एउटा सशक्त क्रान्तिकारी कम्युनिष्ट पार्टीको आश्यकता पर्दछ । नेपालको कम्युनिष्ट आन्दोलन अहिले विभाजित अबस्थामा छ । विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध नगरी त्यो सशक्त क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हुन सक्तैन ।

यही मर्मलाई आत्मसात् गरेर हामीले पार्टी पुनर्गठन अभियान सुरुगर्दादेखि नै नेपालको वाम आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने अवधारणा अगाडि सारेका थियौँ । हामी अहिले पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्दछ भन्ने मान्यता राख्दछौँ । हाम्रो यो पनि स्पष्ट धारणा छ कि पार्टी एकता सिद्धान्तनिष्ट, नीतिनिष्ट र बलिया आधारयुक्त हुनु पर्दछ ।

हमीले सुरुदेखि नै क्रान्तिकारी कम्युनिष्टहरू, खासगरी समाजवादी कार्यदिशा अँगालेका कम्युनिष्ट घटकहरूबिच एकता हुनुपर्ने कुरामा जोड दिदै आएका छौँ। केही साना घटकहरूलाई पार्टीमा एकताबद्ध गरेका पनि छौं । साथै नेकपा (माओवादी केन्द्र) र जसपालगायतका पार्टीहरूसँग एकता वार्ता पनि चलाएका थियौँ ।

यस दौरान व्यवहारबाट के स्पष्ट भयो भने अहिले तत्काल कम्युनिष्ट पार्टीहरूबिचको एकता वा वाम एकता सम्भव छैन । पार्टी एकता हुनका निम्ति पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, सङ्गठनात्मक सिद्धान्त, कार्यक्रम र कार्यदिशाजस्ता मूलभूत विषयमा एकरूपता हुनु पर्दछ । यी मुख्य विषयमा एकरूपता नभइकन पार्टी एकता हुन सक्तैन ।

कार्यगत एकता, मोर्चाबन्दी र सहकार्य भने तात्कालिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मुद्दाहरूमा दृष्टिकोण मिल्नेहरूका बिच गर्न सकिन्छ । तर, वाम पार्टीहरुबीच एकता सम्भव छैन ।

कार्यगत एकता, मोर्चाबन्दी र सहकार्य भने तात्कालिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मुद्दाहरूमा दृष्टिकोण मिल्नेहरूका बिच गर्न सकिन्छ । त्यसैले अहिले पार्टी एकता होइन समाजवादी कार्यदिशा अँगालेका वामपन्थी पार्टीहरूको एउटा मोर्चा बनाएर सहकार्य गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षमा हामी पुगेका हौं ।

अहिले नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), जसपा र नेकपा (बिप्लव) को सहभागितामा समाजवादी मोर्चा, नेपाल बनेको छ । यो संयुक्त मोर्चा हो । संयुक्त मोर्चा क्रान्तिकारी आन्दोलन सञ्चालन गर्ने एउटा महत्वपूर्ण संरचना हो । संयुक्त मोर्चा विभिन्न प्रकारका हुन्छन् । अहिले बनाइएको समाजवादी मोर्चा समाजवादी कार्यदिशा अँगालेका वामपन्थी पार्टीहरूबिचको संयुक्त मोर्चा हो । यो रणनीतिक चरित्रको संयुक्त मोर्चा हो ।

यस मोर्चाको मुख्य लक्ष्य र उद्देश्य ’सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै समाजवादको नेपाली बाटो तय गर्ने र समाजको अग्रगामी रूपान्तरणको कार्य अगाडि बढाउने’ हो । यस उद्देश्य अनुरूप मोर्चालाई राम्रोसँग परिचालन गर्न सकियो भने समाजवादी क्रान्तिलाई अगाडि बढाउन केही न केही योगदान पुग्ने छ ।

यस मोर्चाले एक त वर्तमान गठबन्धनलाई बलियो बनाउन योगदान गर्छ र राजनीतिक अस्थिरतालाई रोक्न मद्दत गर्दछ भने अर्कोतर्फ समाजवादी ध्येय भएका राजनीतिक दलहरूका बीच सहमति र सहकार्यको आधार तयार गर्दछ । वामपन्थी तथा समाजवादी शक्तिहरूका बीचको सहकार्यले संविधानको रक्षा र विकास गर्दै पुनरुत्थानवादी तथा दक्षिणपन्थी शक्तिहरूका विरुद्ध एउटा शक्तिका रूपमा काम गर्छ । त्यस अर्थमा यो मोर्चाको निर्माण महत्वपूर्ण छ ।

जनसाधारणका लागिसमेत यसको महत्व कति छ भन्ने कुरा यस मोर्चाको घोषणामा देखिएको उत्साहले स्पष्ट पार्दछ । अहिले यसलाई प्रदेश र जिल्लास्तरसम्म विस्तार गर्ने निर्णय भएको छ । भविष्यमा समाजवादी कार्यक्रम निर्माण गर्न र मुलुकलाई त्यसतर्फ अगाडि बढाउन मोर्चाले योगदान गर्नेछ भन्ने अपेक्षा गरिएको छ ।

समाजवादी मोर्चामा रहँदा पार्टी कम्जोर हुन्छ भन्ने होइन । मोर्चामा रहनु भनेको त्यसैमा विलय हुने भन्ने होइन । मोर्चामा रहँदैमा पार्टीको स्वतन्त्र अस्तित्व समाप्त हुने होइन । मोर्चामा रहेको बेलामा पनि पार्टीको आफ्नो स्वतन्त्र अस्तित्व रहिरहन्छ र पार्टीले आफ्ना कार्यक्रम र क्रियाकलाप स्वतन्त्र रूपमा सञ्चालन गरिरहन्छ ।

साझा कार्यक्रम मोर्चाबाट गरिन्छ भने पार्टीका आफ्ना कार्यक्रम स्वतन्त्र रूपमा चलिरहन्छन् । त्यसैले मोर्चामा रहँदैमा पार्टी कम्जोर हुँदैन बरु पार्टीलाई बलियो बनाउन सहयोग नै पुग्दछ । विगतमा पनि कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा बनाएर काम गरेको थियो र त्यसबाट पार्टी विस्तारमा सहयोग पुगेको थियो ।

हाम्रा आन्तरिक कमजोरीलाई इमान्दारीपूर्वक स्वीकार गर्न र हटाउन सक्दा, हामीले विकसित गरेका नेपाली क्रान्तिका सिद्धान्तहरूलाई स्पष्ट पार्न सक्दा र हाम्रो सम्पूर्ण सामर्थ्यलाई सङ्गठित गर्न सक्दा नेकपा (एकीकृत समाजवादी) ले क्रान्तिकारी तथा प्रगतिशील शक्तिहरूको ध्रुविकरणमा नेतृत्व गर्न सक्छ ।

अहिले हामी संसदभित्र रहेका विभिन्न राजनीतिक दलहरू सम्मिलित गठबन्धनमा पनि छौं । यो गठबन्धन संयुक्त मोर्चा होइन तात्कालिक राजनीतिक कार्यगत एकता मात्र हो । यो गठबन्धन वर्तमान संसदको संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको गठबन्धन हो । यो दीर्घकालीन होइन तात्कालिक राजनीतिक कार्यगत एकता मात्र हो ।

त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक गठबन्धन वा कार्यगत एकता पनि बदलिन सक्छ । तर, अहिले तत्काल वर्तमान राजनीतिक परिस्थिति र गठबन्धन बदलिने र हामी गठबन्धनबाट बाहिर निस्कने अवस्था छैन ।

(नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय मिटीको जारी छैटौं बैठक (२०८० भाद्र ५– ७) मा अध्यक्ष नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको अंश)

प्रतिक्रिया दिनुहोस्