Logo
Logo

बागमतीमा ९४ दिनमा मन्त्री चित्रकारले पाए मन्त्रालय


1.3k
Shares

काठमाडौं । बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकारले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसका सांसद चित्रकारले मन्त्रीको शपथ लिएको ९४ दिनमा विभागीय जिम्मेवारी पाएका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चित्रकारलाई मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

चित्रकारलाई नयाँ मन्त्रालयको जिम्मेवारी दिएसँगै बागमतीमा मन्त्रालयको संख्या १२ पुगेको छ । निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ८ बाट १४ वटा मन्त्रालय बनाएपछि प्रदेशसभाको दोस्रो कार्यकालमा पहिलो मुख्यमन्त्री बनेका जम्मकट्टेलले माघमा मन्त्रालय संख्या ११ वटामा झारेका थिए ।

बागमतीमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहने छ ।

प्रतिक्रिया दिनुहोस्