Logo
Logo

महिला क्रिकेटमा मलेसियासँग नेपाल पराजित



काठमाडौं । आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको तेस्रो खेलमा मलेसियासँग नेपाल ६ विकेटले पराजित भएको छ । मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा भएको खेलमा जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।

मलेसियालाई जिताउन ओपनर ऐन्ना हमिजा हसिमले नटआउट ३७ रन बनाइन् भने महिरा इज्जती इस्मालीले २१ रन जोडिन् ।
बलिङतर्फ नेपालका रुबिना क्षेत्री, सीता राना मगर र पूजा महतो समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । नेपालको ब्याटिङको बीचमा वर्षाका कारण खेल रोकिएपपछि १८ ओभरमा घटाइएको खेलमा मलेसियाले ८५ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो ।
नेपालका कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन् । उनले २ चौका र १ छक्का प्रहार गरेकी हुन् ।

यस्तै, इन्दु बर्माले २० रन बनाइन् । ओपनिङमा आएकी काजल श्रेष्ठले २१ बलमा १ चौका सहित १८ रन बनाइन् । दोस्रो विकेटका लागि काजल र इन्दु बर्माले २५ रनको साझेदारी बनाए । यस्तै, सीता राना मगर १३ बलमा ९ रन बनाउँदै क्याच आउट भइन् भने इन्दु बर्माले ३३ बलमा २० रन बनाउँदै चौथो विकेटका लागि कप्तान रुबिना क्षेत्रीसँग ३० रनको साझेदारी बनाइन् ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३८ रनले पराजित गरेको थियो । यो चारदेशीय शृंखलापछि नेपालले मलेसियामा नै आइसीसी वुमन्स टी–२० एसिया क्षेत्र छनोट खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्