Logo
Logo

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै


1.3k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फेरि सुनुवाइ हुने भएको छ । मुद्दाको मूल विषयवस्तुमा प्रवेश गरी न्यायनिरुपण हुनुपर्नेमा अन्य कागजप्रमाणमा विवाद देखिएपछि पुनः सुनुवाइ हुने भएको हो ।

मुद्दा सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकिएको छ । लामो समयदेखि पेसी चढ्ने, तर आदेश गरेर सर्दै आएको मुद्दामा काठमाडौं जिल्ला अदालतले आइतबार फैसला केन्द्रित सुनुवाइ गर्ने अपेक्षा गरिएको छ ।

मुद्दाको अन्तिम किनारा नलागेको भन्दै सन्दीप एसिया कप क्रिकेट खेल्न पाकिस्तान गएका छैनन् । उनी आज राति पाकिस्तान जाँदैछन् । यसअघि सन्दीपको मुद्दामा गत साउन ३२ गते मुद्दामाथि सुनुवाइ भएको थियो ।

उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी (गौशाला २६) की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।

पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।

गत भदौ २१ गते १७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन् । सन्दीपलाई असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ गरिएको थियो ।

प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर उनीमाथि बलात्कारको अनुसन्धान अघि बढाइएको थियो। मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश सुनाएको थियो ।

जिल्ला अदालतको आदेशपछि केही महिना थुनामा बसेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि सर्तसहित थुनामुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्