Logo
Logo
कला

‘कुकुर पाल्न एकदमै मनपर्छ’



भनिन्छ, जहाँ इच्छा, त्यहाँ उपाय । प्रतिमा आलेमगरका लागि यो भनाइ चरितार्थ भएको छ । उनी सानैदेखि सोच्थिन्, ‘कुनै न कुनै समय सौन्दर्य प्रतियोगिता जितेर ताज पहिरिने छु ।’ नभन्दै प्रतिमाले त्यो सपना पूरा गरेकी छन् । पहिलोपटक आयोजना भएको ‘मिस मगर इन्टरनेशनल–२०२३’को उपाधि जितेकी प्रतिमा भन्छिन्, ‘ताज लगाउने एउटा सपना पूरा भएको छ । जसमा परिवारको पनि साथ र सपोर्ट मिल्यो ।’

पहिलो सिजनमै विजेता बनेपछि मगर समुदायको कला र संस्कृति प्रवद्र्धधन गर्ने आफ्नो पहिलो दायित्व भएको उनको भनाइ छ । त्यसो त प्रतिमा सिंगापुरकी पीआर हुन् । तर, प्रतिमा नेपाल आइरहन्छिन् । उनलाई आफ्नो देश र जन्मथलो स्याङ्जाको मायाले तानिरहन्छ । यसपटक उनी सौन्दर्य प्रतियोगितामा सहभागी हुन नेपाल आएकी हुन् । सिंगापुरमा सीए अध्ययनरत प्रतिमा मोडलिङ र अभिनयमा पनि रुची राख्छिन् । ‘सिम्पल लिभिङ हाई थिङकिङ’ भन्ने भनाइलाई जीवनमा लागू गर्दै आएकी ‘मिस मगर इन्टरनेशनल–२०२३’ विजेता प्रतिमा आलेमगरसँग एमपी सुब्बाको जम्काभेट :

‘मिस मगर इन्टरनेशनल’को पहिलो सिजनमै विजेता बन्नुभएको छ । कस्तो महशुस गरिरहनुभएको छ ?
एकदमै खुसी छु । मेरो एउटा सपना साकार भएको महशुस भइरहेको छ किनकि, मलाई सानैदेखि यस्तो इभेन्टमा सहभागी हुने इच्छा थियो । सानोमा टिभीमा देख्दाखेरी मैले पनि भाग लिन पाएहुन्थ्यो भन्ने लाग्थ्यो । तर, परिवार नै सिंगापुरमा बस्ने भएकाले त्यो मौका जुरेको थिएन । यस पटकचाहिँ मौका मिल्यो । त्यो पनि आफ्नै समुदायको सौन्दर्य प्रतियोगिता ‘मिस मगर इन्टरनेशनल’मा । यो मेरो लागि खुसीको कुरा हो ।

यो प्रतियोगितामा सहभागी हुने अवसरचाहिँ कसरी मिल्यो ?
इभेन्टमा सहभागी हुने मेरो रुची र इच्छा थियो । यसैबेला ‘मिस मगर इन्टरनेशनल’ हुँदैछ भन्ने थाहा पाएँ । मेरो रुची देखेर बुबा (लालबहादुर आलेमगर)ले भाग लिनु भनेर सल्लाह दिनुभयो । त्यसपछि यही प्रतियोगितामा भाग लिन भनेर नेपाल आएँ । उपाधि पनि जितेँँ ।

‘मिस मगर इन्टरनेशनल’ उपाधि तपाइँले नै जित्नुको कारण के छ ?
त्यस्तो केही कारण छैन, हार्डवकै हो । सबै पाटिसिपेन्ट राम्रा र अब्बल थिए । तर, म मा सुरुदेखि नै कन्फिडेन्ट थियो । फेमिलीको सपोर्टका कारण पनि बलियो दावेदारको रुपमा प्रस्तुत भएकी थिएँ ।

‘मिस मगर इन्टरनेशनल’को ताज पहिरिँदै गर्दा कसलाई सम्झिनुभयो ?
सबैभन्दा पहिलो ड्याडी र बज्यैलाई समिझएँ किनकि, आमा र दिदीसँगै हुनुहुन्थ्यो । त्यसपछि मलाई हौसला प्रदान गर्ने साथीभाइहरुलाई सम्झेँ । साथै, म जन्मिएको गाउँघरलाई सम्झेँ । इभेन्टमा भाग लिएर जित्ने र जन्मगाउँलाई चिनाउने मेरो सपना थियो ।

सौन्दर्य प्रतियोगितामा भाग लिएर के सिक्नुभयो ?
सबैभन्दा ठूलो कुरा आफ्नो मगर संस्कृतिबारे सिक्ने, जान्ने अवसर पाएँ । मगर भएरपनि मलाई त्यतिधेरै थाहा थिएन । अहिले मगर भाषामा आफ्नो परिचय दिन सक्ने भएकी छु । साथै, यस प्रतियोगिताबाट कन्फिडेन्ट डेभलव भयो । साथीहरुसँग चिनजानको अवसर पाएँ ।

तपाइँलाई आफ्नो समुदायको मनपर्ने कला संस्कृति के हो ?
मलाई कौडा नाच्न मनपर्छ । सिंगापुरमा पनि कार्यक्रमहरु भयो भने कौडा नाच्छु । त्यो अवसर नेपाली सोसाइटीले जुराइरहेको हुन्छ । र, मलाई शहिद लखन थापाप्रति सधैं गर्व गर्दछु ।

मोडलिङ र अभिनयमा रुची छ कि छैन ?
अलिअलि इच्छा छ । तर, खोजी खोजी मोडलिङ गर्दिनँ । यदि, अवसर आयो भने मोडलिङ गर्न सक्छु । फिल्ममा पनि उही हो । तर, मैले एउटा फिल्म गर्नैपर्ने छ किनकि, यो प्रतियोगिताको आयोजकसँगै त्यो सम्झौता छ । तर, मलाई फिल्ममा काम दिनुस् भनेर कसैसँग भन्दिनँ ।

मोडलिङबाहेक अन्य रुची के छ ?
फुर्सदमा डान्स गर्छु । म भलिवल पनि खेल्छु । स्कुल लेवलमा मैले थुप्रै राष्ट्रियव्यापी भलिवल कप खेलेकी छु । तर, मेरो टिम जहिल्यै सेकेण्ड र थर्ड मात्र हुन्थ्यो । यसबाहेक एनिमल र फिश लभर हुँ । मलाई कुकुर पाल्न एकदमै मनपर्छ । नेपाल आउँदा एनिमलसम्बन्धी संघसंस्थाहरुलाई सहयोग पनि गर्दै आएकी छु ।

नेपाल कतिको आउने–जाने गर्नुहुन्छ ?
एक–एक वर्षमा आइरहेको हुन्छु । फुर्सद हुनेवित्तिकै हामी फेमिली नै नेपाल आउँछौँ । यो पटक पनि एक वर्षको ग्यापमा नेपाल आएकी हुँ । नेपाल आएपछि जन्मघर स्याङ्जा पनि जाने गरेकी छु । मलाई आफ्नो जन्मगाउँ एदकमै प्यारो लाग्छ ।

आफ्नो मनपर्ने बानी के हो ?
म सबैसँग बोल्ने हाँस्ने गर्छु अर्थात चाँडै मानिसहरुसँग घुलमिल गर्ने मेरो बानी छ । मलाई ‘हाईफाई’ गर्न मनपर्दैन । भन्छन् नि, ‘सिम्पल लिभिङ हाई थिङकिङ । म यही सोचकी छु ।

सिंगापुरमा हुँदा नेपालको के कुरा याद आइरहन्छ ?
मलाई गाउँघर, इष्टमित्र र चाडपर्वहरुको याद आइरहन्छ । अनि नेपाली खानेकुराको पनि बढी याद आउँछ । मलाई सिम्पल नेपाली खाना मनपर्छ ।

नेपाली र सिंगापुरेमा के भिन्नता छ ?
नेपालीहरु सहयोगी भावनाका हुन्छन् । सायद भाषा मिलेर पनि त्यस्तो लागेको होला । नेपालीसँग बोल्न पनि सजिलो छ । र, सिंगापुरको लाईफ बढी एक्टिभ छ । कसैलाई फुर्सद नै हुन्न । त्यहीअनुसार फ्यालिटी पनि छ । सिंगापुरको नियम एकदमै कडा छ । सबैलाई कानुन बराबरी छ । विशेषगरी सिंगापुर महिलाका लागि सुरक्षित छ ।

भविष्यको उद्देश्य के हो ?
अहिले सीए अध्ययन गर्दैछु । भविष्यमा बैंकर पनि बन्न सक्छु । तर, जहाँ, जे पनि समाजसेवी बन्ने मन छ ।

प्रतिक्रिया दिनुहोस्