Logo
Logo

नेपाल सरकारका सचिव दिल्लीमा जागिरे


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस । नेपाल सरकारबाट राजीनामा स्वीकृत नभए पनि स्वास्थ्य तथा जनसंख्या सचिव डा. पुष्पा चौधरीले विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को भारतस्थित नयाँदिल्ली कार्यालयमा जागिर खाँदैआएकी छन् । चौधरी कानुनतः अहिले पनि नेपाल सरकारको सचिव हुन् ।

स्वास्थ्य मन्त्रालयको बेबसाइटमा उनको तस्वीर सचिवका रुपमा राखिएको छ । तर उनी दिल्लीस्थित डब्लुएचओको पी ५ (सहसचिव) स्तरको जागिर खाइरहेकी छन् । सुविधा धेरै भए पनि उनी सचिवस्तरबाट सहसचिवस्तरको जागिरमा रमाइरहेकी छन् । डब्लुएचओमा नाम निस्किएको केही समयपछि २०७६ कात्तिक १३ बाट लागू हुने गरी उनले दिइन् । तर उनको राजीनामा सरकारले अस्वीकृत ग¥यो ।

राजीनामा अस्वीकृत गरे पनि उनी सचिवको रुपमा काम गर्न आएकी छैनन् । डब्लुएचओमै जागिर खाइरहेकी छन् । उनले मंसिरको तेस्रो साता राजीनामा स्वीकृत गर्न माग गर्दै पुनः निवेदन दिएकी थिइन् । सरकारले उनको पछिल्लो राजीनामा पनि स्वीकृत गरेको छैन । यसरी नेपाल सरकारको सचिव दुईतिर जागिर खाएको बिषयमा सरकारले गम्भीरतापूर्वक लिएर विभागीय कारबाही गर्नसक्छ । विभागीय कारबाही गरे उनले निवृत्तिभरण(पेन्सन) पाउँदिनन् । तर साढे दुई महिनादेखि डब्लुएचओमा जागिर खाइरहेकी सचिवमाथि सरकारले विभागीय कारबाही समेत गर्न सकेको छैन । सचिव चौधरीले २०७६ कात्तिक १७ देखि डब्लुएचओको जागिर खाइरहेको कुरा स्रोतले दृष्टिलाई बताएको छ ।

प्रतिक्रिया दिनुहोस्