Logo

विनय सरबाट सिक्नुपर्ने कुरा


Published On : 14 January, 2020

  • श्रीधर खनाल

गाउँले देउराली साप्ताहिकमा आधारभूत र एड्भान्स तालिम लिएकाले मात्र यो तालिम लिन पाउँथ्ये । तालिममा सहभागी म मात्र देउरालीले सञ्चालन गरेका कुनै पनि तालिम नलिएको प्रशिक्षार्थी थिए । प्रशिक्षक हुनुहुन्थ्यो, विनय सर । त्यही तालिममा पहिलोपटक मेरो भेट विनय सरसँग भएको हो । १५ दिनको तालिमपछि विनय सरले हस्ताक्षर गरेको प्रमाणपत्र अहिले पनि मसँग सुरक्षित छ ।

तालिम महेन्द्रवोधी माध्यमिक विद्यालयको कक्षाकोठामा सञ्चालन हुन्थ्यो । यो तालिम विनय सरको रहरले सञ्चालन भएको थियो । तालिम सञ्चालनको समयमा देउरालीसँग कुनै परियोजना पनि थिएन । पाल्पाका पत्रकारलाई व्यावसायिकरुपमा तिखार्ने सोचले यो तालिम सञ्चालन भएको थियो । मैले थाहा पाएसम्म पाल्पामा विनय सरको आधा महिना लामो बसाइँ यो नै अन्तिम हो । यसपछि उहाँ आक्कलझुक्कल पाल्पा गए पनि केही दिन मात्र अडिनुभयो ।

नयाँ कुरा सिक्ने र कुनै पनि विषयको अभिलेखीकरणमा उहाँको अचम्मको बानी थियो । पत्रिकामा छापिएका काम लाग्ने सामग्री उहाँ आफँै काट्नुहुन्थ्यो । फोटोकपी पेपरमा टाँसेर विषयअनुसारको फाइलमा राख्नुहुन्थ्यो । एमएसआईमा काम नभएको समयमा लेखापाल पनि कोही हुँदैनथ्ये । दैनिक खर्चका बिलहरु उहाँले यसैगरी टाँसेर फाइलमा राख्नुहुन्थ्यो । कार्यालय सहायक मीनाले किन्ने सामानको विवरण दिँदा छिटो सामान सकियो भन्ने लाग्यो भने उहाँले बिलै देखाएर भन्नुहुन्थ्यो, ‘मीना यो सामान किन छिटो सकियो हेर त ।’

तालिमका अन्तिम दिनहरु नजिकिँदै गर्दा विनय सरसँग एक खालको भावनात्मक सम्बन्ध भयो । उहाँले मलाई लेखनको विषयमा धेरै कुरा बताउनुभयो । घरमै बोलाएर पनि पत्रकारिता र व्यावसायिक लेखनको विषयमा सिकाउनुभयो । उहाँले निकालेको किताब ‘पाल्पा एज यु लाइक इट’ नयाँ संस्करणमा छाप्ने सोच त्यतिबेलै सुनाउनुभयो । त्यो किताबमा मैले पाल्पाको विषयमा नयाँ तथ्यांक संकलन गरेर सघाए । ‘पाल्पा एज यु लाइक इट’को नयाँ संस्करणमा प्रयोग भएका धेरै तथ्यांक मैले संकलन गरेका हुन् भन्ने अवसर उहाँले दिनुभयो ।

तालिम सकेर काठमाडौं आएपछि उहाँले मलाई जेलभित्रका बालबालिकाको अवस्थाको विषय काम लगाउनुभयो । दिनभर जेलभित्र बसेर महिला र बालबालिकाको विषयमा अन्तर्वार्ता लिएँ । ‘पाल्पा एज यु लाइक इट’मा काम गर्दा जेलरसँग एक खालको सम्बन्ध थियो । योपटक मैले जेलको विषयमा विनय सरका अलावा दृष्टिलाई पनि रिपोर्टि¬ङ गरे । जेलभित्रका महिलाको अवस्थाका बारेमा सञ्चारिका समुहले प्रकाशन गर्ने फिचर सेवामा पनि लेखे ।

अर्को काम थियो, एमएस नेपालले निकाल्ने बुलेटिनका लागि । मुलुकमा माओवादी द्वन्द्व चर्किएको थियो । पाल्पाका बोटे र कुमाल समुदायमा झगडाको कारणको विषयमा मैले रिपोर्टिङ गरे । त्यसको लिड विनय सरले लेख्नुभयो– ‘पाल्पाका बोटे र कुमालको बीचमा हुने झगडाको कारण हो– रक्सी, केटी र पैसा ।’

तालिमपछि दृष्टिका लागि धेरै फिचर स्टोरी लेखेँ । रंगीन कलेबरमा नआउँदासम्म दृष्टिमा दुई स्तम्भ थिए– मोफसल र गाउ“÷बस्ती । विनय सरले सिकाएको ग्रामीण पत्रकारिताको प्रयोग यी दुई स्तम्भमा गर्ने अवसर गोविन्द भट्टराई र मैले पनि पाएँ ।

त्यतिबेला विनय सर मिडिया सर्भिसेज इन्टरनेसनल (एमएसआई) चलाउनुहुन्थ्यो । त्यहाँ पनि कुनै परियोजना थिएन । एमएसआईमा अग्रज व्यक्तित्व आदरणीय भारतदत्त कोइराला, हेमबहादुर विष्ट, आदित्यमान श्रेष्ठ र सुमन बस्नेतको संलग्नता थियो । विष्ट सरले मिडियाहाउसमै आभाष चलाउनुहुन्थ्यो । आभाषले त्यतिबेला काठमाडौं महानगरपालिकाको लागि टेलिभिजन कार्यक्रम उत्पादन गर्दथ्यो ।

एमएसआई र दृष्टि ओहोरदोहोर गर्दैमा मेरा दिनहरु बित्दै थिए । विनय सरले एक दिन तपाईंलाई खर्च चाहिँदैन भनेर सोध्नुभयो । मैले भने, ‘अहिलेसम्म चलेकै छ ।’ उहाँले कचलको कुलोको रिपोर्टिङ गर्न अह्राउनुभयो । यसका लागि खोज पत्रकारिता केन्द्रले लगानी गर्ने भयो । पाल्पाको तिनाउ गाउँपालिकामा रहेको कचलको कुलो पञ्चायती विकासको नमूना थियो । खेतबाट बनाउँदै मूलसम्म पुग्दा कुलो मूलभन्दा केही हातमाथि पुग्यो । ढलाइ गरेर बनाइएको कुलोमा मूलको पानी कहिल्यै बगेन । कमिला हिँडेरै करोडौं रुपैयाँको लगानी स्वाहा भयो ।

खोज पत्रकारिताका मोहन दाइ (मोहन मैनाली)सँग भेट्टाउन विनय सरले मलाई लिएरै जानुभयो । त्यतिले मात्र नपुगेर मैले लेखेको खोजी समाचार मोहन दाइलाई पठाउनुभन्दा पहिला उहाँले मलाई आफ्नो घरको कम्प्युटर अगाडि राखेर सम्पादनसमेत गरिदिनुभयो । यो कामले मलाई काठमाडौंमा केही महिना बस्न सहज भयो ।

यो बीचमा मैले विनय सरले दिनुभएका विभिन्न किताब पढँे । सूचना प्रविधिको बारेमा केही सिक्ने अवसर पाएँ । त्यतिबेला विनय सरको ध्यान सूचना प्रविधिको विषयमा बढी केन्द्रित थियो । उहाँले त्यही कालखण्डमा सूचना प्रविधिको शक्ति र यसको उपभोग भन्ने किताब लेख्नुभयो ।

मैले पनि उहाँसँगै सिकेर केही लेख गोरखापत्रमा लेखेँ । त्यतिबेला गोरखापत्रले साताको एकपटक एक पेज सूचना प्रविधिसम्बन्धी सामग्री प्रकाशन गर्दथ्यो । यो पेजमा छापिएका सामग्रीको पारिश्रमिक भने पाइँदैनथ्यो । पछि एक्काइसाँै शताब्दी साप्ताहिक म्यागेजिनमा पनि मैले एक वर्षजति निःशुल्क यो विषयमा लेखँे ।

सामुदायिक सञ्चार विनय सरको अर्को रुचिको विषय थियो । उहाँ लेखनकलाको विषयमा पनि उत्तिकै दख्खल राख्नुहुन्थ्यो । लेखनकलाको विषयमा उहाँले सञ्चालन गरेका कतिपय तालिममा मलाई सहायक प्रशिक्षकको रुपमा काम गर्ने अवसर पनि उहाँले दिनुहुन्थ्यो । कहिलेकाहीँ गंगा म्याडमले पनि यस्ता प्रशिक्षणमा सहजीकरणको काम गर्नुहुन्थ्यो । उहाँले तयार पारेका तालिम सामग्रीमा आधारित भएर जानीनजानी मैले केही तालिम पनि चलाए । काठमाडौं बसाइँको पहिलो चरणमा विनय सरसँग जोडिएर सिकेका धेरै काम आज पनि मेरो जीवन निर्वाहका आधार हुन् । अर्कोतर्फ भारतदत्त र सुमन सरले बेला–बेलामा दिने कामले पनि त्यो बेलाको खर्च सहजरुपमा चल्ने गर्दथ्यो ।

नयाँ कुरा सिक्ने र कुनै पनि विषयको अभिलेखीकरणमा उहाँको अचम्मको बानी थियो । पत्रिकामा छापिएका काम लाग्ने सामग्री उहाँ आफँै काट्नुहुन्थ्यो । फोटोकपी पेपरमा टाँसेर विषयअनुसारको फाइलमा राख्नुहुन्थ्यो । एमएसआईमा काम नभएको समयमा लेखापाल पनि कोही हुँदैनथ्ये । दैनिक खर्चका बिलहरु उहाँले यसैगरी टाँसेर फाइलमा राख्नुहुन्थ्यो । कार्यालय सहायक मीनाले किन्ने सामानको विवरण दिँदा छिटो सामान सकियो भन्ने लाग्यो भने उहाँले बिलै देखाएर भन्नुहुन्थ्यो, ‘मीना यो सामान किन छिटो सकियो हेर त ।’

विनय सरलाई आर्यघाटमा अन्तिम बिदाइ गर्दैगर्दा कुशल पत्रकारिताको अभिभावक गुमाएको महसुस मलाई भयो । उहाँले जीवनमा आएका हरेक विषयलाई सहज तरिकाले व्यवस्थापन गर्नुहुन्थ्यो । उहाँमा भएको अद्भूत व्यवस्थापकीय कलाले उहाँलाई हरेक क्षेत्रमा पायोनियर बनायो । सायद, विनय सरसँग जस्तो व्यवस्थापकीय कला हामीले अरु कसैमा मुस्किलै देख्न पाउँछौँ । त्यसको अनुकरण गरेर अगाडि बढ्न सक्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

प्रतिक्रिया दिनुहोस्